२०८१ आश्विन ७ , सोमवार

खनियाको आकाश र पातालको फरक सार्वजनिक

सुनाखरी न्युज/ पोखरा ।

म किसानको छोरो, ढिडो गुन्दु्रक खाई उकाली–ओराली गर्दै हुर्केको
तिमी शहरकी, त्यो ठूलो महलकी, सुख शयलमा, जीवन बितेको
मिल्दैन स्तर तिम्रो र मेरो यति जान्दाजान्दै किन मन पराको
आकाश र पातालको फरक छ तिम्रो र मेरो जिन्दगी
कसरी माया लाउनु र खै म गाउँको तिमी शहरकी
प्रस्तुत हरफ गीतकार हरिहर खनियाका हुन् ।

२०६६ सालमा ‘दोष’ एल्बममार्फत आधुनिक सुगम संगीतमा उदाएका खनियाका ‘मैले बाआमा त्यागेर रोजेको मायाले मलाई धोका दिई…’, ‘आज मेरो जन्मदिन हो…’, ‘म तड्पी–तड्पी मर्दा…’ ‘सबको पिरतीमा घरबार हुन्छ’लगायतका गीत चर्चामा रहेका थिए ।

चर्चा कमाएर १२ वर्षसम्म हराएपछि आफू नहराएको जानकारी दिन केही समय अगाडि ‘म हराएको छैन कतै पनि’ बोलको आधुनिक गीत सार्वजनिक गरेका थिए । उक्त गीतको सफलतासँगै खनिया ‘आकाश र पातालको फरक छ’ शीर्षकको आधुनिक गीतका साथ उदाएका हुन् । सिडी बिजय अधिकारीको स्वरमा रहेको उक्त गीतको संगीत सर्जक खनियाले नै गरेका हुन् । कमल सौरागको संगीत संयोजन, राजकुमार बगरको मिक्सिङ र रेकर्डिङ रहेको गीतमा त्रिवेणी डिटिजल स्टुडियोको रेकर्ड र टुकी क्रियशनको सम्पादन रहेको छ । गीतमा सिडीविजय अधिकारी, आभा थापा, केदार पौडेल, ईश्वर थापालगायतको भूमिका रहेको छ ।

गीतकार प्रतिष्ठान नेपालका अध्यक्षसमेत रहेका खनियाको प्रस्तुत गीत उनकै हरिहर खनिया नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । लमजुङमा जन्मेर पोखरामा रहेर छापा तथा मुद्रण व्यवसायमा संलग्न खनिया सफल व्यवसायीका रूपमासमेत परिचित छन् ।