२०८१ माघ २ , बुधवार

चुनौतीपूर्ण अर्थतन्त्रको निकासका लागि परिसंघले थाल्यो राजनीतिक दलसँग छलफल

सुनाखरी न्युज/ काठमाडौं । नेपाल उद्योग परिसंघले मुलुकको अर्थतन्त्र र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा राजनीतिक दलहरुसँग छलफल सुरु गरेको छ।

 

परिसंघले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् एवं पार्टीबाट अर्थ उद्योगलगायत अर्थतन्त्रसँग सम्बन्धित क्षेत्रका पदाधिकारी एवं केन्द्रीय सदस्यहरुसँग छलफल गरेको हो। परिसंघ सचिवालयमा बुधबार आयोजित छलफलमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले हाल उद्योगी–व्यवसायीहरुको मनोबल निकै घटेको र अर्थतन्त्रमा सुधार ल्याउन निजी क्षेत्रको मनोबल बढाउन आवश्यक रहेको बताए। लगानीयोग्य पुँजीको अभाव, निष्क्रिय कर्जामा भइरहेको तीव्र वृद्धि, उच्च ब्याजदरलगायतका कारणले निजी क्षेत्रको मनोबल खस्किएकाले यसमा सुधार आवश्यक रहेको उनको भनाइ थियो।

अध्यक्ष अग्रवालले उद्योगी–व्यवसायीहरुको मनोबल बढाउन सांसद्हरुको भूमिका महत्वपूर्ण हुने बताए। अर्थतन्त्रमा सुधार ल्याउन सरकारी एवं निजी क्षेत्रको लगानी बढाउनुपर्र्ने, ब्याजदर कम गर्नुपर्ने, तरलताको सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए। कार्यक्रममा संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिबुटिङ नेप्लिज इकोनोमी’ अवधारणाबारे पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् एवं नेताहरुलाई अवगत गराइएको थियो। परिसंघले नेपाली अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रवर्द्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपायसमेत सुझाएको छ।

 

सार्वजनिक निजी साझेदारी मोडलमा औद्योगिक क्षेत्रलगायतका पूर्वाधार अगाडि बढाउनुपर्ने, सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सहुलियतको व्यवस्था गर्नुपर्नेमा परिसंघले जोड दिएको छ। परिसंघको यो सुझावलाई सबै मिलेर कार्यान्वयनमा लैजान सकिए अर्थतन्त्रमा छिटो सुधार आउने विश्वास अध्यक्ष अग्रवालले व्यक्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता डीपी अर्यालले अर्थतन्त्र जोगाउन सबै मिल्नुपर्ने र शिक्षित गराउनुपर्नेमा जोड दिए। निजी क्षेत्रको सफलता नै देशको सफलता हुने भन्दै उनले अर्थतन्त्र सुधारका विषयमा निजी क्षेत्रसँगै रहेको बताए।

 

परिसंघका वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवाल, उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, हेमराज ढकाल, उद्योगी अमित मोरलगायतले उद्योगी व्यवसायीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक रहेकोमा जोड दिनुभयो। सही तरिकाले गरेको उद्योग व्यवसायबाट आर्जित नाफालाई समेत नकारात्मक दृष्टिकोणबाट हेर्नु उचित नभएको उद्योगी–व्यवसायीहरुले बताए। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् मनिष झाले अनुहार हेरेर नीति बनाइने गरेको भन्दै त्यसमा सुधार आवश्यक रहेको औंल्याए। परिसंघले मुलुकको अर्थतन्त्र र सुधारका विषयमा अन्य राजनीतिक दलहरुसँग छलफल तथा अन्तरक्रिया आयोजना गर्नेछ।