सुनाखरी न्युज/ काठमाडौँ । पूर्वी नवलपरासीको सर्दीमा बेवारिसे अवस्थामा बम फेला परेको छ । बिनयी त्रिवेणी गाउँपालिकाको वडा ५ धुर्कोट भेडीगाउँको बारीमा बम फेला परेको हो ।
बारीमा बेवारिसे अवस्थामा थुप्रै बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए । आफ्ना बाबुनानीले जंगल नजिकै बारीमा ती बमका गोला देखेका सर्दीका स्थानीय बासिन्दा रुकेश तरामुकाले बताउनुभयो । भारतीय सेनाका पूर्वसैनिक समेत रहेका तरामुका अनुसार ती ८१ एमएम मोटरको बम (गोला) हुन् । साथै ५२ सय मिटर रेन्जका ती बम जमिनमा विस्फोट हुँदा १ सय ८० मिटर वरपरको क्षेत्र ध्वस्त पार्ने र खोतल्दै जाँदा एकै ठाउँमा ९ वटा बम देखिएको थियो उहाँले बताउनुभयो ।
जिल्ला प्रहरीका निमित्त प्रमुख सन्तोष पाठकले यसबारे जानकारी पाए अनुसार दुम्कीवासका प्रहरी निरीक्षकको टोली पठाएको र ती बम कसले र कहिले राखेको भन्नेबारे यकिन भइनसकेको बताउनुभयो ।