२०८१ मंसिर ८ , शनिवार

खाजा खर्चबाट बचाएको रुपैयाँले विद्यार्थीद्वारा इ–लाइब्रेरी संचालनमा सहयोग

प्रवीण थपलिया/काठमाडौँ । नुवाकोट शिवपुरीको कुम्भेश्वर माध्यमिक विद्यालयमा मंगलबारबाट इ–लाइब्रेरी संचालनमा आएको छ। क्यालिफोर्नियाको ला सिएरा विश्वविद्यालयका विद्यार्थीहरूको सहयोगमा ई-लाइब्रेरी सुरु गरेको हो ।

 

नेपाल भ्रमणमा आएका ला सिएरा विश्वविद्यालयका विद्यार्थी एबिगेल रामोस, केनेडी एस्पिरिटु र सौरभ जोशी ले आफ्नो खाजा खर्च कटाएर बचाएको रुपैयाँले पाँच थान कम्प्युटर सहित इ–लाइब्रेरी संचालनमा चाहिने उपकरण उपलब्ध गराए संगै इ- लाइब्रेरी संचालनमा आएको हो । इ–लाइब्रेरी संचालनले ग्रामीण भेगका विद्यार्थीहरुमा डिजिटल संसारमा पहुँच बृद्धि हुनुका साथै विद्यार्थीहरूको शिक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। विद्यालयका प्रधानाध्यापक माधव ठकुरीले इ–लाइब्रेरी संचालन गर्ने सहयोग गर्ने ला सिएरा विश्वविद्यालयका विद्यार्थी र समन्वय गर्ने रुडेक नेपालप्रति आभार व्यक्त गर्नु भयो ।

 

 

मंगलवार आयोजीत इ–लाइब्रेरी उद्घाटन समारोहमा नुवाकोट जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरी, रुडेक नेपालका अध्यक्ष मीनकुमार केसी, विद्यालय व्यवस्थापन समिति सदस्य रमेशप्रसाद पाण्डेलगायत कुम्भेश्वर माविका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।