सुनाखरी न्युज/ काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरुले देशमा स्थिरता नहुने बताएका छन् ।
बिहीवार राम नवमीको अवसरमा काठमाडौंको बत्तिसपुतलीस्थित राम मन्दिरमा दर्शनका लागि पुगेका उनले अहिले देशमा व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरु बढेको बताए । देशमा शान्ति, स्थायित्वको लागि सरकार स्थिर हुन जरुरी रहे पनि तत्काल स्थिरताको कल्पना गर्नसक्ने अवस्था नरहेको उनको भनाइ छ ।
अध्यक्ष लिङदेनले देश अझै अस्थिरताको बाटोतर्फ जाने संकेत देखिएको बताए । देशलाई स्थिरता दिन सबै एकजुट हुनुको विकल्प नरहेको पनि उनले स्पष्ट पारे । उनले सरकार सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्ने जिम्मेवारीबाट भाग्न खोजेको भन्दै सरकारले आफ्नो दायित्वबाट पन्छिने कुरा सह्य नहुने चेतावनी पनि दिए ।
‘हामी सरकारमा हुनु वा नहुनु तपसिलको कुरा हो । तर देशमा शान्ति, स्थायित्वको लागि सरकार स्थिर हुन जरुरी छ,’ उनले भने, ‘अहिले जुन प्रकारको प्रवृत्ति विकसित भइरहेको छ, व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरु झनै तिब्र रुपले बढीरहेका छन् । त्यसले तत्काल स्थिरताको कल्पना गर्न सकिँदैन । देश अझै अस्थिरताको बाटोतर्फ जाने संकेत देखिएका छन् । सबै एकजुट भएर हामीले शान्ति, स्थिरता र विकासलाई मुल मुद्दा बनाएर अघि बढ्नुपर्छ ।’
विगतमा सरकारले रामनवमीमा दिइरहेको बिदा कटौती गरेका भन्दै आफू सरकारमा थोरै समय रहे पनि आगामी वर्षबाट सार्वजनिक बिदा दिने निर्णय गरेको बताए । ‘२०८० को सार्वजनिक बिदामा रामनवमी पनि परेको छ । केही वर्षदेखि सरकार धार्मिक संस्थानको संरक्षणमा भन्दा जिम्मेवारीबाट भाग्न खोजेको छ यो सह्य छैन । उच्च प्राथकिताका साथ सरकारले यसको जिममेवारी लिनुपर्छ,’ उनले भने ।