सुनाखरी न्युज/ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध नागरिकता दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । निवदेक युवराज पौडेलले आइतबार सर्वोच्चमा दिएको निवेदन सोमबार मुख्य रजिष्ट्रारले दर्ता गरेका हुन् ।
सर्वोच्च अदालतमा प्रवक्ता विमल पौडेलका अनुसार निवेदनमाथिको पेसी मंगलबारका लागि तोकिएको छ । निवेदक पौडेलले लामिछानेविरुद्ध मुद्दा नचलाउने गरी चैत ६ गते महान्यायाधिवक्ताले गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गरी मुद्दाको निष्पक्ष अनुसन्धान गरी मुद्दा चलाउनका लागि विपक्षीका नाममा परमादेश जारी गरी पाऊँ भन्ने माग गरेका छन् ।
‘अमेरिकी नागरिकले नेपाली पासपोर्ट पाउने कानुनी व्यवस्था थिएन र छैन । निज रवि लामिछानेले आफू अमेरिकी नागरिक भएपश्चात नेपाली नागरिक भएको झुटो विवरण दिएर नेपाली राहदानी प्राप्त गर्ने जुन कार्य गरे सो कार्य राहदानीको दुरुपयोगयुक्त कसूरजन्य र दण्डनीय कार्य हो‚’ पौडेलको रिटमा उल्लेख छ । यसअघि पौडेलले लामिछानेविरुद्ध जाहेरी दिएका थिए । तर महान्यायाधिवक्ताले मुद्दा चलाउने आधार नपुग्ने निर्णय गरेका थिए ।