२०८१ मंसिर १५ , शनिवार

ढाका कुमारको सचिवालय भन्छ- ‘अडियो सम्पादन गरेर षड्यन्त्र गरियो’

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विवादास्पद सांसद डा. ढाका कुमार श्रेष्ठको सचिवालयले रकम मागबारे बाहिरिएको अडियो निज श्रेष्ठको नभएको बताएको छ ।

 

डा. श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग आफू स्वास्थ्यमन्त्री बन्न लागेको भन्दै २ करोड रुपैयाँ माग गरेको अडियो बाहिरिएको थियो । सो अडियो श्रेष्ठको आफ्नै अडियो नभएको र आवाज सम्पादन गरी नियोजित रुपमा कसैले षडयन्त्रपूर्वक बाहिर ल्याएको दाबी गरिएको छ । आइतबार रास्वपाले उनीमाथि लागेको आरोपबारे गम्भीर छानबिन हुने र छानबिन नसकिँदासम्म उनलाई निलम्बनमा राखेको जनाएको थियो । त्यसपछि उनको सचिवालयले एक विज्ञप्ति जारी गरी बचाउ गरेको हो ।

 

विज्ञप्तिमा उल्लेख भए अनुसार डा. श्रेष्ठको आवाज सम्पादन गरी नियोजित रुपमा उनीविरुद्ध षडयन्त्र गरिएको छ । साथै निज श्रेष्ठलाई पार्टीले मन्त्री बनाउने कुरा नै नउठेको र नियोजित रुपले उनको इज्जत, मान, मर्यादा र राजनीतिक भविष्य नै गिराउने उद्देश्यले यस्तो गरिएको विज्ञप्तीमा जनाइएको छ ।

पहिलोपटक कपुरबोट डटकम मिडियाले उक्त अडियो बाहिर ल्याएको थियो । डा. श्रेष्ठको सचिवालयले सो अडियो बाहिर ल्याउने मिडियाप्रति विद्युतीय ऐन २०६४ अनुसार कारबाहीको लागि प्रक्रियामा जाने समेत जनाएको छ ।