सुनाखरी न्युज/ काठमाडौं । उद्योगी व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभा मंगलबारदेखि काठमाडौंमा सुरू हुँदैछ ।
होटल याक एण्ड यतीमा आयोजित साधारण सभाको उद्घाटन मंगलबार बिहान १० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम छ । साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ । यसै साधारणसभाबाट हाल महासंघका वरिष्ठ उपाध्यक्ष पदमा रहेका चन्द्र ढकाल स्वतः अध्यक्ष हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्ष लगायतका पदका लागि बुधबार निर्वाचन हुनेछ ।
उद्योग वाणिज्य महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष चुनिएको व्यक्ति तीन वर्षे कार्यकाल पछि स्वतः अध्यक्ष बन्ने व्यवस्था छ । नयाँ वरिष्ठ उपाध्यक्ष चुनिनका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाई चुनावी प्रतिस्पर्धामा छन् । उनीहरुले प्यानलसहित उम्मेदवारी घोषणा गर्दै उद्योग व्यापारमैत्री वातावरण निर्माणका लागि सरकारसँग पहल गर्ने लगायतका एजेण्डा अघि सारेका छन् । साधारण सभाले महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । लुम्बिनी प्रदेश सदस्यमा जमशेर मियाँ र नेपाल–भारत उद्योग वाणिज्य संघका प्रतिनिधि राष्ट्रिय सदस्यका उम्मेदवार सुनील केसी भने यसअघि नै निर्विरोध भएका छन् ।
महासंघको विधानले तीन फरक व्यावसायिक क्षेत्र (जिल्ला–नगर वाणिज्य, वस्तुगत र एसोसिएट) मा एक–एक जना गरी तीन जना उपाध्यक्षको व्यवस्था गरेको छ ।