२०८१ मंसिर ४ , मंगलबार

महानगरले उठाउन थाल्यो सिंहदरबारको फोहोर

सुनाखरी न्युज/ काठमाडौं । सिंहदरबारमा थुप्रिएको फोहोर काठमाडौं महानगरपालिकाले उठाउन थालेको छ । गत वैशाख ८ गते सर्वोच्च अदालतले महानगरलाई सिंहदरबारभित्रको फोहोर तीन दिनभित्र उठाइसक्न आदेश दिएको थियो ।

 

अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले सिंहरदरबारभित्रको क्षेत्र, राष्ट्रपतिको कार्यालय शितल निवास र प्रधानमन्त्री कार्यालय रहेको क्षेत्रका फोहोर उठाई अविलम्ब विसर्जन गर्न आदेश दिएको थियो । महानगरपालिकाका मेयर बालेन्द्र शाहले संघीय सरकारले आफूहरूसँग समन्वय नगरेको भन्दै गत चैत २४ गतेदेखि ती क्षेत्रको फोहोर नउठाउन निर्देशन दिएका थिए ।

 

फोहोर मैला व्यवस्थापन ऐन, २०६८ को दफा ३(१), ३(२) र दफा ४ ले फोहोरमैलाको प्रबन्ध गर्ने, संकलन गर्ने, अन्तिम विसर्जन गर्ने, व्यवस्थापन गर्ने गराउने दायित्व स्थानीय तहको हुन्छ भन्ने स्पष्ट कानुनी व्यवस्था छ । यसैगरी नेपालको संविधानको धारा २१४ (१), धारा २१४(२) र अनुसूची ८ मा भएको संवैधानिक प्रावधानलाई समग्रमा अध्ययन गर्दा सरसफाइ गर्नुपर्ने अधिकार स्थानीय तहलाई सुम्पेको छ ।