२०८१ मंसिर ९ , आइतवार

नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश

सुनाखरी न्युज/ काठमाडौं । नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । कुवेतविरुद्धको सेमिफाइनल खेल वर्षाका कारण प्रभावित भएपछि फाइनलमा प्रवेश गरेको हो ।

वर्षाका कारण ओभर घटाइएको खेलमा नेपालले डीएलएस प्रणालीका आधारमा २८१ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको कुवेतले ८ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर ३७ रन जोड्दा खेल वर्षाका कारण पुन: रोकिएको थियो । समूह चरणमा नेपालको प्रदर्शन कुवेतभन्दा राम्रो रहेको आधारमा नेपाल फाइनलमा प्रवेश गर्न सफल भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

उता युएईले भने डीएल प्रणालीका आधारमा ओमानलाई २ रनले पराजित गर्‍यो । युएईले दिएको २३७ रनको लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेट गुमाएर १९० रन बनाउँदा वर्षाका कारण खेल स्थगित भएको थियो । अब फाइनल खेल सोमबार हुनेछ । कुवेत र ओमानले तेस्रो स्थानका लागि आइतबार खेल्नेछन् ।