सुनाखरी न्युज / काठमाडौँ – भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई प्रहरीले काठमाडौँ ल्याएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई प्रहरीले बुधबार बुटवलमा पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि बिहीबार काठमाडौं ल्याउने बताइएको छ । बुधबार जिल्ला अदालत काठमाडौंले उनीसहित बुवा टोपबहादुरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
सन्दीपमाथि नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन एक करोडको चेक लिएको आरोप छ । प्रहरीले उनको नाममा काटिएको डेढ करोडको चेक बरामद गरिसकेको छ । उक्त प्रकरणमा गएको १२ चैतमा केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ परिसकेका छन् ।
प्रहरीले उनीहरुसँग लिएको बयानका आधारमा प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ गरिसकेको छ ।बुधवार बुटवलमा पक्राउ परेका सन्दीपलाई बिहीबार हवाई जहाजमार्फत काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ । उनलाई कागजी प्रक्रिया पुर्याएर अब म्याद थपका लागि बिहीबार अदालत पेस गर्ने तयारी भएको प्रहरीले जनाएको छ ।