सुनाखरी न्युज/ काठमाडौं । २५६७ औं बुद्ध जयन्तीको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री लगायतका शीर्ष नेताले शुभकामना सन्देश दिनुभएको छ । बुद्ध जयन्तीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले विश्व शान्तिका प्रतीक गौतम बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीहरूका लागि गौरवको विषय भएको बताउनु भएको छ ।
राष्ट्रपति पौडेलले भगवान बुद्धले प्रतिपादन गरेको अहिंसा र शान्तिको सन्देशले व्यक्ति, परिवार, समाज, देश र विश्वको सर्वोत्तम हित र प्रगतिका लागि सदैव प्रेरणा दिने विश्वास समेत व्यक्त गर्नुभएको छ । बुद्धका अहिंसात्मक सन्देश तथा उपदेशको स्मरण गर्दै एकता, सहिष्णुता, सद्भाव, अहिंसा र शान्तिको महान् अभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भन्ने कामना पनि उहाँले गर्नुभएको छ । यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुने बताउनुभएको छ ।
शुभकामना व्यक्त गर्दै मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बुद्धले गर्नुभएको त्याग, लिनुभएको विचार र अभ्यास नेपालीका लागि विशेष ऐतिहासिक गौरवका विषय भएको उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले बुद्ध दर्शन, बुद्धको जन्मभूमि लुम्बिनी र महत्वपूर्ण सबै बौद्ध क्षेत्रहरूको प्रवर्द्धन र विकास गर्न नेपाल सरकार प्रतिवद्ध रहेको जानकारी गराउँदै बुद्धजयन्तीले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अगाडि बढ्न हामी सबैलाई प्रेरणा प्रदान गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ । सभामुख देवराज घिमिरेले भगवान् बुद्धले देखाउनुभएको पवित्र मार्गको अनुसरणले शान्ति, सद्भाव, करुणा र मैत्रीभाव प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
जीवनलाई रोग, शोक, दुःख र कष्टबाट माथि उठाउने तथा शान्ति र करुणा प्रवर्द्धन गर्ने बुद्धका शिक्षा आज पनि त्यत्तिकै सान्दर्भिक रहेका र बुद्धका शिक्षाले सार्वकालीन महत्व राख्ने उहाँको भनाइ छ । यसैगरी, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अनेकौं प्रकारका हिंसाको प्रयोगबाट आक्रान्त समकालीन विश्वमा गौतम बुद्धद्वारा प्रतिपादित शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता अझ बढ्न गएको बताउनुभएको छ । उहाँले समस्त मानव जातिलाई शान्ति र अहिंसाको मार्गदर्शन गर्ने गौतम बुद्धका उपदेशहरूको पालना एवं अनुसरण गरी व्यक्ति, समाज र विश्व समुदायका बीचमा शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ गर्दै लैजान सकिने विश्वास व्यक्त गर्नुभएको छ ।
त्यसैगरी, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गर्नुपर्ने उल्लेख गर्नुभएको छ । उहाँले देशमा शान्तिको कामना गर्दै अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सबैले मुक्ति पाउन् भन्ने कामना गर्नुभएको छ ।