२०८१ मंसिर ८ , शनिवार

किसानको बाली जोगाउन ‘बाँदर उद्यान’

सुनाखरी न्युज / बागलुङ – जैमिनी नगरपालिका–८ को पुरानो गाउँ वन क्षेत्रमा ‘बाँदर बगैँचा’ तथा पर्यटकीय क्षेत्र बनाउन पहल गरिएको छ। बाँदरको बगैँचा र प्राकृतिक वन्यजन्तु उद्यान बनाउनका लागि नगरपालिकाले सरोकारवालासँग छलफल थालेको हो। जैमिनी नगरपालिका र डिभिजन वन कार्यालय बागलुङको संयुक्त आयोजनामा पुरानो गाउँमा भएको सरोकारवालाको भेलाले बाँदरले दिएको दुःख हटाउन संरक्षण पार्क बनाउने योजना सञ्चालन गर्ने सहमति भएको छ। साथै भेलाले बाँदर पार्क बनाउन सहयोग गरिदिन गण्डकी प्रदेश सरकार र संघीय सरकारलाई लेखी पठाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरिले बताए।

 

भेलामा नगरप्रमुख नरबहादुर पुन, उपप्रमुख हरिहर शर्मा, जिल्ला वन अधिकृत मुकुन्द अधिकारी, सबै वडा अध्यक्ष र कार्यपालिका सदस्य तथा स्थानीय सहभागी हुनुहुन्थ्यो। उहाँहरुले जैमिनी नगरपालिकाभित्रको बसाइँसराइ रोक्न बाँदर आतंक रोक्नुपर्ने धारणा राखे। ‘हामीलाई बाँदरले धेरै दुःख दिएको छ, जसका कारण घरमा खाने केही बाँकी छैन’, स्थानीय दुर्गाबहादुर थापाले भने, ‘जैमिनी नगरभित्रका बाँदर ल्याएर संरक्षण गरियो भने खेतीपाती लगाएर खान पाइएला।’ हरेक घरमा बाँदरको हेरालु राख्दा पनि बाली जोगाउन नसकिएको उनले बताए। वडा वडामा बाँदरको समस्या भएपछि कतिपयले घरै छाडेर बसाइ सरेका छन्। घरहरु रित्तिन थालेको र खेतीपाती लगाउने क्रम घटेपछि बस्तीमा छिरेर बाँदरले आतंक मच्चाउने गरेको किसानको गुनासो छ। यहाँ बनाउने योजना गरिएअनुसार बाँदर संरक्षण गरेर राख्ने, जंगलमै खाने व्यवस्थापन गर्दा समुदायमा खेतीपाती जोगाउने समस्या नहुने सहभागीको भनाइ छ।

 

त्यसका लागि धेरै बजेट लाग्ने अनुमान छ। नगरपालिकाले डिभिजनसँगको सहकार्यमा डीपीआर बनाउने, लगानीका बाटा खोज्ने र दीर्घकालीनरूपमा बाँदर नियन्त्रण गर्ने लक्ष्य राखिएको जनप्रतिनिधिले बताए। ‘बाँदर नियन्त्रण गर्न सकियो भने कम्तीमा बसाइँसराइ रोक्न सकिन्छ’, उपप्रमुख हरिहर शर्माले भने, ‘दिनदिनै बसाइ जाने अवस्था भएमा गाउँमा विकास निर्माण पुग्दा बस्ती रित्तो हुनेछन्।’ नगर प्रमुख नरबहादुर पुनले त बाँदरको संरक्षण गरेर पर्यटनमा जोड्नुपर्ने धारणा राखे। उनले बाँदरबारे अध्ययन गर्न चाहने विद्यार्थीका लागि अध्ययन केन्द्रको रूपमा पनि विकास गर्न सुझाए। त्यसका लागि सबै स्थानमा पहल गर्नुपर्ने उहाँको जोड थियो। राम्रो संरक्षण भएमा छिमेकी पालिकाबाट समेत बाँदर ल्याएर राख्ने र पालिकाले राजस्व संकलन गर्ने, आम्दानीको दायरा बढाउने अवस्था आउने उनले बताए। रासस