२०८१ मंसिर ११ , मंगलबार

यस्ता छन् काँक्रो खानुका फाइदाहरु

सुनाखरी न्युज/  काठमाडौं –  काँक्रो यस्तो फल हो, जुन बजारमा वर्षैभरि पाइन्छ । यो नेपाली जनजीवनमा भिजेको खान्की पनि हो । धेरैजसोले सलादकै रुपमा प्रयोग गर्ने काँक्राले शरीरलाई स्वस्थ राख्नुका साथै छालाको सौन्दर्य पनि बढाउँछ । काँक्राका फाइदा यति धेरै छन कि यसका बेफाइदा नै छैनन भन्दा पनि हुन्छ ।

 

काँक्रामा भिटामिन सी,पोटासियम,फोलिक एसिड प्रशस्त मात्रामा पाइन्छ । त्यस्तै कार्बोहाइड्रेट, क्याल्सियम,फस्फोरस,फलाम,सल्फरजस्ता बहुपयोगी तत्व समेत काँक्रामा पाइन्छ ।काँक्रो चिरा पारेर नुन, खुर्सानी दलेर खानुको मज्जा नै बेग्लै । काँक्रोको प्रयोग अचार र सलादमा बढी हुन्छ । काँक्रोको पातलो गोलाकर पत्रलाई दुवै आँखामा राखेर एकखालको फेसियल थेरापी पनि गर्ने गरिन्छ ।खानामा स्वादिलो र स्वास्थ्यका लागि फाइदाजनक काँक्रोमा करिब ९० प्रतिशत पानी हुन्छ । सोही कारण गर्मी याममा मानिस शरीरमा पानीको कमी हुन नदिन काँक्रो खाइरहेका हुन्छन् । नियमित रुपमा काँक्रो खाने हो भने मुहार चाउरी पर्दैन । यसले अनुहारलाई मोइस्चराइज गराउनुका साथै छालालाई डढ्नबाट बचाउँछ । भिटामिन, मिनरल्सलगायत पोषणतत्वयुक्त काँक्रोका यस्ता अनेकौं फाइदा छन्, जसबारे हामी अझै अनभिज्ञ छौं । जानौं, काँक्रोका फाइदाः

 

तौल कम गर्छ – फाइबरयुक्त काँक्रोमा पानीको मात्रा बढी र क्यालोरी कम हुन्छ । भोजनमा काँक्रोको मात्रा बढाउने मानिसको शरीरमा अतिरिक्त तौल बढ्दैन । मध्यान्हमा काँक्रो खानूस्, भोक लाग्दैन । तपाईंको भोकलाई काँक्रोले नै खाइदिन्छ, जसले गर्दा शरीरमा क्यालोरी बढ्न पाउँदैन र तौल कम हुन थाल्छ । यसैगरी काँक्रोमा पाइने भिटामिन ए, बी र सीले शरीरमा शक्ति प्रदान गर्नुका साथै पाचन प्रक्रियालाई मजबुत बनाउँछ । काँक्रोमा पाइने सिलिकनले जोर्नी तथा शरीरका कोषिका मजबुुत बनाउन मद्दत गर्छ ।

क्यान्सरविरुद्ध लड्छ – काँक्रोमा क्याफिक, कुकुरविटासिन्स, लुटेन, फिस्टिनलगायत तत्व हुन्छन्, जसले स्तन, ओभरी, प्रोस्टेट र पाठेघरको क्यान्सर हुनबाट बचाउँछन् । काँक्रोमा एन्टिअक्सीडेन्टको मात्रा हुने भएकाले यसले शरीरका टक्सिन बाहिर निकाल्छ र क्यान्स सेल्स बढ्न दिँदैन ।

मधुमेह र रक्तचाप हुन दिँदैन –  काँक्रोमा प्रशस्त मात्रामा पोटासियम, सिलिकनलगायत मिनरल्स हुन्छन्, जुन शारीरिक विकासका लागि आवश्यक छन् । काँक्रोमा पाइने फाइबर, म्याग्नेसियम र पोटासियमले रक्तचाप नियन्त्रित राख्न मद्दत गर्छ । काँक्रोको जुस मधुमेहका लागि पनि फाइदाजनक छ । यसले पेंक्रियाटिक कोषिकालाई इन्सुलिन उत्पादन गर्न सघाउँछ ।

 

मृगौला रोगबाट बचाउँछ – पानीले भरिपूर्ण काँक्रोले विषाक्त तत्वलाई हाम्रो शरीरबाट बाहिर फाल्ने मात्र नभई मृगौलाको पत्थरीलाई गायब पार्नसमेत मद्दत गर्छ । यसलाई गाँजरसित मिसाएर खाएमा युरिक एसिड कम गरी गाउट तथा आर्थराइटिसको दुःखाइ कम गर्छ । काँक्रोले युरिक एसिड कम गर्ने भएकाले त्यसका कारण हुन सक्ने मृगौलासम्बन्धि समस्याबाट समेत बचाउँछ ।

दाँत बलियो बनाउँछ – काँक्रोलाई राम्रोसित चपाएर खाएमा दाँतलाई ताजा तथा सफा राख्नुका साथै गिजा सुन्निनबाट बचाउँछ । काँक्रोमा पाइने साइटोकेमिकल्सले मुखमा रहेका ब्याक्टेरिया नष्ट गर्छ, जसका कराण मुखबाट गन्ध आउन बन्द हुन्छ ।

ह्याङ्ओभर हटाउँछ – काँक्रोमा हुने भिटामिन बी, इलेक्ट्रोलाइट्स तथा चिनीले टाउको दुख्ने समस्याबाट आराम दिन्छ । यसले ‘ह्याङओभर’ बाट बचाउँछ । यदि साँझमा मदिरा अत्यधिक पिउनु भएको छ भने केही चिरा काँक्रा खानूस्, अर्को दिन ह्याङ्ओभर हुँदैन ।

कपाल र नङ चम्काउँछ – सिलिकन तथा सल्फरयुक्त काँक्रोले कपाल र नङलाई भरपूर मात्रामा पोषकतत्व प्रदान गर्छ । यसले नङ तथा कपाल बढाउनसमेत मद्दत गर्छ ।