२०८१ मंसिर १० , सोमवार

भैरहवा विमानस्थलका लागि रुट दिन भारतको के छ सर्त

सुनाखरी न्युज / काठमाडौं –  भैरहवा एयरपोर्टमा भारतले आफ्नो मान्छे राख्न पाउनुपर्ने सर्त पनि अघि सारेको छ ।उड्डयन मामिलाका विज्ञहरु भने भैरहवा विमानस्थल सञ्चालन खर्च समेत उठाउन नसक्ने अवस्थामा पुग्नुको मुख्य कारणमध्ये ‘हवाई रुट’ एक भएको बताउँछन् । भैरहवा विमानस्थल आउने विमानहरुले भारतबाट नेपाल प्रवेश गर्न सहज, सुलभ र सुविधाजनक रुट पाएका छैनन् । भैरहवा र पोखरा विमानस्थललाई लक्षित गरेर प्रस्ताव गरिएका भैरहवा, नेपालगञ्ज र महेन्द्रनगर रुटबाट विमान नेपाल भित्रिन दिन भारत सरकार सहमत भएको छैन ।

 

भारतबाट सकारात्मक प्रतिक्रिया नआएको नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले बताए । उनले भने, ‘नेपाल–भारतको एयरपोर्टसम्बन्धी विवाद कर्मचारी लेभलबाट समाधान हुने सम्भावना छैन । हाइलेवलबाट मात्र मिल्ने देखिन्छ । किनकि भारतसँग जतिपटक छलफल गर्यो, त्यति वटा सर्त राख्ने गरेको छ ।’भारतको कुशीनगरमा बनेको अन्तर्राष्ट्रिय विमानस्थललाई लिएर भारत आफै चिन्तित देखिन्छ । लुम्बिनीबाट १८० किलोमिटर मात्र टाढा रहेको कुशीनगरको एयरपोर्ट बनाउँदा नेपालको लुम्बिनीलाई लक्ष्य गरी बनाइएको थियो ।

 

नेपाल–भारतको सीमामा रहेको गोरखपुरमा भारतीय सेनाको क्याम्प र भारतीय एयरफोर्सको क्याम्प पनि रहेका कारण भारतले भैरहवा अन्तरराष्ट्रिय विमानस्थललाई संवेदनशील रुपमा लिएको छ ।कम भिजिबिलिटीमा पनि उडान अवतरण गर्न सक्ने प्रणाली ‘आईएलएस’ यन्त्र भैरहवा अन्तराष्ट्रिय विमानस्थलमा जडान गरिएको छ । जसको कारणले भारतले असुरक्षाको महसुस गरिरहेको छ ।

 

एयर रुटको अनुमति दिएपछि भैरहवा विमानस्थलमा ओर्लिने विमानहरु आर्मी क्याम्पमाथिबाट नै आउने छन् । त्यसले गर्दा भारत आफ्नो सुरक्षामा ढुक्क हुन सकेको छैन । परराष्ट्र मन्त्री एनपी साउदले पनि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा चलायमान बनाउन भारतसँगको केही असमझदारीलाई हटाउने बारेमा छलफल हुने बताए । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक हंशराज पाण्डेले एयर रुटलगायतका विषयमा भारतसँग पहिलादेखि नै छलफल हुँदै आइरहेको तथा प्रधानमन्त्री प्रचण्डको भ्रमणको क्रममा थप छलफल गरेर टुंग्याइने बताए ।

 

एयरपोर्टमा भारतीय कर्मचारी राख्ने प्रस्तावबारे आफ्नो जानकारीमा नरहेको दावी गर्दै महानिर्देशक पाण्डेले प्रधानमन्त्री प्रचण्डको भ्रमणले सबै कुरा टुंगिने विश्वास आफूले लिएको बताए ।अहिले भैरहवा एयरपोर्टबाट कुनै पनि अन्तरराष्ट्रिय उडान भइरहेको छैन । जजिरा एयरले पनि आफ्नो उडान स्थगित गरेको छ । नेपाल वायु सेवा निगमले भने उडान गर्ने तयारी गरिरहेको महानिर्देशक पाण्डेले बताए ।