२०८१ मंसिर १२ , बुधवार

भर्जिनियाको दीक्षान्त समारोहमा गोली चल्दा दुईजनाको मृत्यु

सुनाखरी न्युज
अमेरिकाको भर्जिनियामा एक विद्यालयको दीक्षान्त समारोहमा गोली चलेको छ। मंगलबार साँझ अन्धाधुन्ध गोली चलेको घटनामा संलग्न रहेको आरोपमा १९ वर्षीय किशोर पक्राउ परेका छन्।रिचमण्डमा रहेको ह्युजनट हाइ स्कुलको दीक्षान्त समारोहमा गोली चल्दा दुईजनाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन्।

यो घटनापछि बुधवारका लागि तय भएको अन्य दीक्षान्त समारोहसँगै कक्षाहरु पनि स्थगित गरिएको छ।

मृत्यु हुनेमा दीक्षान्त समारोहमा सहभागी भएका १८ वर्षीय विद्यार्थी र उनका ३६ वर्षीय बुवा रहेको प्रहरीले जनाएको छ। उनीहरुको पहिचान भने सार्वजनिक गरिएको छैन।उक्त पार्कमा दीक्षित भएका विद्यार्थी र उनीहरूका अभिभावकहरू सैयौं संख्यामा थिए। उनीहरू फोटो खिचिरहेका थिए।

अकास्मात् गोली चलेपछि त्यहाँ भागदौड मच्चिएको थियो। उनीहरू दीक्षान्त समारोह भएको स्थलतर्फ दौडिएका थिए। त्यस क्रममा लडेर, अतालिएर दर्जनौं घाइते भएको एपीले जनाएको छ।

केही अभिभावकहरू आफ्नो सन्तानसँग अंकमाल गर्दै रोइरहेका विक्षिप्त दृश्य देखिएको प्रहरी प्रमुख एडवार्डले बताए। एजेन्सी