२०८१ मंसिर १२ , बुधवार

स्थानीय उत्पादनलाई प्रोत्साहन र संरक्षण गर्न किसानलाई उत्पादनको आधारमा अनुदान दिने तयारी छः अर्थमन्त्री

सुनाखरी न्युज/ काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक कृषि उत्पादक किसानलाई संरक्षण गर्न आयातित वस्तुमा कर लगाइएको बताउनुभयो ।

 

बिहीबार अर्थ मन्त्रालयमा अर्थमन्त्रीलाई आयातित आलु, प्याज तरकारीमा कर लगाएर नेपालमा कृषि उत्पादन गर्न सहज वातावरण बनाएकोप्रति आभार प्रकट गर्न पुगेको नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल व्यवसायी कृषक संघ, म नेपाली किसान लगायत कृषकहरुसंगको सामूहिक भेटका क्रममा उहाँले यस्तो बताउनुभएको हो । अर्थमन्त्री महतले देशभित्र उत्पादन गरिरहेका उद्योगी, कृषकलाई संरक्षण गर्न उत्पादनको आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो –‘ज्येष्ठ १५ गते संसदमा प्रस्तुत आर्थिक विधेयकमा आलु प्याजमा लगाएको करको मुख्य उद्देश्य नै स्थानीय उत्पादनलाई नै प्रोत्साहन र संरक्षण गर्ने हो ।

कृषि लगायत अन्य उत्पादक कृषिकलाई एक तहको संरक्षण दिनुपर्छ भन्ने मान्यताका साथ प्रश्तुत गरिएको हो’, उहाँले भन्नुभयो, ‘यो करको व्यवस्थाले मुलतः आयातित वस्तुलाई नै महँगो बनाउँछ । स्थानीय उत्पादनलाई महँगो बनाउँदैन । सुपर मार्केटमा त्यही खालका उपभोक्ताहरु पुग्ने गर्छन् । अहिले दैनिक उपभोग्य खाद्यवस्तु पनि आयात गर्नु पर्ने भन्ने बहस भइरहेको छ । त्यसमा आयातको सट्टा मुलुकभित्रै उत्पादन बढौं । त्यसले रोजगारी पनि सिर्जना पनि हुन्छ । उत्पादनकर्ता पनि उत्साहित हुन्छन् । पहिला कागज देखाएर मात्रै अनुदान लिएका थिए अब त्यसरी हुँदैन । उत्पादनमा नै अनुदान दिने हो । त्यसमा पनि नयाँ टेक्नोलोजी प्रयोग गरिरहेको छ । उत्पादनको आधारमा अनुदान दिने सरकारको तयारी छ ।’

 

अर्थमन्त्री महतले अहिले करको दर लागू नहुँदै सुनियोजित रुपमा केहि संगठित व्यक्तिहरुले मूल्यबृद्धि गराएको बताउनुभयो । उहाँले उत्पादनका आधारमा अनुदान दिने, गुरु किसान कार्यक्रम लगायतका बिषयहरुलाई बजेटले प्राथमिकतामा राखेको जानकारी दिनुभयो । भेट क्रममा प्रतिनिधिहरुले आन्तरिक उत्पादनको संरक्षणको लागि अर्थ मन्त्रीले चालेको कदम स्वागतयोग्य भएको भन्दै यस क्षेत्रमा देखिएका अन्य समस्याहरुको समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।