२०८१ आश्विन ८ , मंगलबार

छोरा चिनाउँदै राजेशपायलले ल्याए छोराको जन्मदिन गीत

सुनाखरी न्युज/ काठमाडौं । गायक राजेशपायल राईले पहिलोपटक छोरा सायरेमलाई औपचारिक रुपमा चिनाएका छन् । विवाह र छोराबारे मौन रहेका उनले मंगलबार पहिलोपटक छोरा सायरेमलाई समर्पित गर्दै गीत सार्वजनिक गरेका हुन् ।

‘ह्याप्पी बर्थडे सायरेम’ भन्दै उनले लिरिकल शैलीमा जन्मदिनको गीत ल्याएका हुन् । छोराको पहिलो जन्मदिनमा ल्याइएको यो गीतमा राजेशपायलले छोराप्रतिको प्रेम र माया दर्शाएका छन् ।

 

‘‘फूलको थुंगो शिरमा फुली हाँसेको आजै हो
शीतल जुन बलेको दिलमा आजकै दिन हौ
तिमीलाई शुभकामना’

 

भिडियोमा छोराको तस्वीर पनि समावेश गरिएको छ । राजेशपायलकै संगीत र स्वर रहेको गीतमा अग्नि साम्पाङ राईको शब्द छन् । राजेशको आफ्नै स्टुडियोमा रेकर्ड यो गीत विशुद्ध छोराप्रति समर्पित छ । २०७९ सालको फागुन मंसिर २६ गते राजेशले प्रेमिका साङबुङ राईसँग कानुनी विवाह गरेका थिए । फागुन मात्र उनीहरुको विवाह दर्ताको प्रमाणपत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । विवाह र सन्तानलाई लिएर मौन रहँदै आएका राजेशपायलले पहिलोपटक छोराको भिडियो र तस्वीर मंगलबार सार्वजनिक गरेका हुन् ।