२०८१ मंसिर १० , सोमवार

गर्मी छल्न नरपानी पुग्छन् पर्यटक

सुनाखरी न्युज/ काठमाडौं । नरपानी डाँडा चिसो हावा र चिसो पानीले प्रसिद्ध छ । यहाँबाट धेरै हिमाल देख्न पाइन्छ । मनमोहक दृश्यहरु देख्न पाइने हुँदा गर्मीयाममा तराईबाट गर्मी छल्न यहाँ धेरै पर्यटक आउने गर्छन् । यहाँ भारतबाट आउने पर्यटकको सङ्ख्या पनि वृद्धि भएको छ ।

 

पहाडको मनोरम दृश्यले भरिपूर्ण नरपानी प्रमुख पिकनिक स्थलका रुपमा बिकसित हुँदै गएको छ । गर्मीको समय आजभोलि पनि यस क्षेत्रमा चिसो खान कपिलवस्तु, रुपन्देही, दाङ, नवलपरासी, बाँके र बर्दियाबाट दैनिकरुपमा हजारौँ मानिस आउने गरेको सन्धिखर्क–६ नरपानीका पूर्ववडाध्यक्ष कृष्णबहादुर आचार्यले बताउनुभयो । कोरोनाका कारण केही समय बन्द भएपनि फेरि आन्तरिक तथा बाह्य पर्यटक बढी रहेका छन् ।

तराई–मधेस र गर्मी क्षेत्रबाट आउने पर्यटकले नरपानीमा आएर चिसो खान पाउँदा खुसी देखिन्छन् । गएको वर्षदेखि दैनिकरुपमा ३० देखि ७० वटा समूह आउने गर्दछन् । शनिबारको दिन यहाँ झण्डै ५० देखि सय वटा समूहमा आउने गरेका छन् ।

महेन्द्र राजमार्गको कपिलवस्तु गोरुसिङ्गेबाट ५० किलोमिटरको दूरीमा नरपानीमा आउन सकिन्छ । गोरुसिङ्गे सन्धिखर्क सडकमा पर्ने यस क्षेत्रमा पछिल्लो समय भारतीय पर्यटक बढी आउने गरेका छन् ।

 

सुपा देउरालीमा धार्मिक विश्वासका साथ पाठा, पाठी चढाउन आउने र देउरालीमा चढाएका पाठापाठी लिएर नरपानीमा वनभोज जस्तै गरिखाने गर्दछन् । यहाँ वरिपरि हरियाली डाँडा छ, बीचमा समथर भूभाग पनि रहेको छ । भविष्यमा पनि यस क्षेत्रमा पर्यटन विकासले फड्को मार्नेमा विश्वास लिइएको छ ।

सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ । कडा चट्टानका बीच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ । यहाँ राष्ट्रिय, अन्र्तराष्ट्रिय क्षेत्रमा ठूलो ओदामा पुगेका व्यक्तिसमेतले दर्शन गर्छन् । कुनै अप्ठ्यारो समस्या आएको बेलामा सुपा देउरालीलाई भाक्कल गरे समस्या टर्ने विश्वास छ । त्यसैले यहाँ पाठी, बोका, भाकल गरी बलि चढाइन्छ ।

 

विगतका वर्षमा दैनिक दुई सयदेखि एक हजार जनाले दर्शन तथा पूजाआजा गर्ने गरेकामा अहिले आएर दैनिक पाँच सय देखि तीन हजारसम्मले दर्शन गर्ने गरेको सुपा देउराली मन्दिर संरक्षण समितका अध्यक्ष फर्सबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार मन्दिरमा चढाइएको भेटीबाट विद्यालय सञ्चालनदेखि अनाथ, असहाय र दैवी प्रकोपमा परेका परिवारलाई आर्थिक सहयोग गर्नाका साथै अन्य मठमन्दिर पौवा, बाटाघाटो, बिजुली, खानेपानी, दैवीप्रकोप राहतलगायतका मानवीय सेवाका क्षेत्रमा खर्च गरिएको जानकारी दिनुभयो । प्रेमनारायण आचार्य रासस