सुनाखरी न्युज/ काठमाडौं । परम्परागत रूपमा गरिदै आएको ऐतिहासिक भुमे पुजा पोखरा महानगरपालिका वडा नं १९,घार्मीमा सम्पन्न भएको छ।
२२से २४से राजाकै पालादेखि चल्दै आएको भुमे पूजा बर्षको दुई पटक गर्ने परम्परा रहेको पुजा संचालन समितिका अध्यक्ष बलराम पौडेलले जानकारी दिनुभयो। मुख्य वाली धान लगाउने बेला र धान भित्र्याउने वेलामा भुमे देवताको पूजा आजा गरी वलि दिने प्रचलन रहेको बताइन्छ। अन्न उत्पादनमा कुनै विघ्न बाधा नपरोस भन्ने भनाई समेत रहेकाे छ।
भुमे पुज्ने तिखेढुङ्गा सामुदायिक वन भित्र रहेको पुजा स्थलमा साविकको लामाचौर गा वि स वडा नं ६,७,८र ९ नम्वरका ब्राह्मण तथा जनजातिले सामुहिक रूपमा पुजा गरेका हुन्। वैदिक विधिपूर्वक गरिने पुजामा पुरूष मात्रै सहभागी हुने प्रचलन रहेको छ। भुमे देवताको मुल पुजा गर्नु अघि सवैले चोखो मिति गरि विहान आ-आफ्ना अगेर तथा भारतको पुजा गर्ने चलन रहेको बताइन्छ।
पुजा स्थल व्यवस्थित नहुँदा पुजामा सहभागी हुनेहरुलाई भने प्रत्येक वर्ष सास्ती खेप्नुपरेको अध्यक्ष पौडेलले बताउनुभयो। वर्षायाममा रूझेरै पुजा सम्पन्न गर्नुपर्ने समस्या विगतवाटै स्थानीयले भोग्नु परेको छ।