२०८१ मंसिर १२ , बुधवार

इजरायली सेनाले वेस्ट बैङ्कमा गरेको हवाई कारबाहीमा पाँच प्यालेस्टिनीको मृत्यु

सुनाखरी न्युज / काठमाडौं ।इजरायली सेनाले सोमबार प्यालेष्टिनी क्षेत्रमा रहेको जेनिनको पश्चिमी किनारा (वेस्ट बैङ्क) क्षेत्रमा ड्रोन आक्रमण गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।इजरायली सेनाले जेनिन शरणार्थी शिविरमा गरेको आक्रमणमा सात जनाको मृत्यु हुनुका साथै हेलिकप्टरबाट क्षेप्यास्त्र प्रहार गरिएको दुई हप्तापछि पुनः ड्रोन आक्रमण सुरु भएको हो ।

 

इजरायलले उत्तरी पश्चिम किनारामा रहेको प्यालेस्टिनी सशस्त्र समूहहरूको प्रभाव रहेको जेनिन शहर र यसको नजिकैको शरणार्थी शिविर, इजरायल र प्यालेस्टिनी समुदायहरूमा यहूदी बस्तीहरूबाट आक्रमणहरू भएका भन्दै कारबाही शुरू गरेको जनाएको छ । प्यालेस्टिनीको स्वास्थ्य मन्त्रालयले सोमबारको कारबाहीमा पाँच जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको जनाएको छ । जेनिनस्थित प्यालेस्टिनी रेड क्रिसेन्टका निर्देशक महमुद अल सादीले एएफपीसँग भन्नुभयो, “ड्रोनमार्फत् बम बारी भइरहेको र जमिनबाट पनि आक्रमण भइरहेको छ ।”उहाँले भन्नुभयो, “धेरै घर र वस्ती वरपर बम बारी भएको छ ।

 

जताततैबाट धुवाँ उडिरहेको छ ।”इजरायली सेनाले स्थानीय लडाकू समूह ‘जेनिन ब्रिगेड’को कमाण्ड पोष्टका रूपमा रहेको संयुक्त कारबाही केन्द्रमा आक्रमण गरेको पुष्टि गरेको छ ।यो क्षेत्र प्यालेष्टिनी नेता महमुद अब्बासको प्यालेस्टिनी प्राधिकरणको नियन्त्रणमा छ र यसको वेस्ट बैङ्कमा आंशिक प्रशासनिक नियन्त्रण छ । सेनाका अनुसार सोमबार बिहानै गरिएको कारबाहीमा ‘अवलोकन’ स्थल, हतियार भण्डारण केन्द्र र हालैका महिनाहरूमा इजरायलमाथि लक्षित आक्रमण गरेका आरोपित लुकेको ठाउँलाई लक्षित गरिएको थियो ।

 

इजरायल–प्यालेस्टाइन द्वन्द्व गत वर्षको सुरुदेखि नै थप हिंसात्मक बनेको छ । डिसेम्बरमा लिकुड पार्टी र अति दक्षिणपन्थी तथा अति–अनुदारवादी यहूदी सहयोगीहरूबीचको गठबन्धनमा सत्ता सम्हालेका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सत्ता सम्हालेपछि इजरायल थप आक्रामक बनेको देखिन्छ । नेतन्याहूको गठबन्धनमा अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षामन्त्री इतामार बेन–गिभरलगायत कट्टरपन्थी बस्तीबाट निर्वाचित नेताहरू समावेश छन् ।
रासस