२०८१ मंसिर ९ , आइतवार

एसईई नतिजा आज सार्वजनिक गर्ने तयारी, बोलाइयो बोर्डको बैठक

सुनाखरी न्युज/ काठमाडौं । गत २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक हुने भएको छ । आज दिउँसो बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनुभयो ।

कुनै प्राविधिक समस्या उत्पन्न नभए आज नतिजा सार्वजनिक गरिने अध्यक्ष शर्माले जानकारी दिनुभयो । २०७९ साल चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईईमा चार लाख ८५ हजार ३९६ परीक्षार्थी सम्मिलित थिए ।

यसअघि बोर्डले यस पटकको नतिजा पनि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार सार्वजनिक गर्ने निर्णय गरेको थियो । २०७८ साल पुस ७ गते सो निर्देशिका जारी भएको थियो । निर्देशिकामा न्यूनतम ३५ प्रतिशत प्राप्त नगर्नेको प्रमाणपत्र अवर्गीकृत गर्ने प्रावधान रहेको थियो ।

सोही वर्षको फागुन १७ गते निर्देशिकामा पहिलो संशोधन गरी २०८० सालको एसईईबाट मात्र सो प्रावधान लागू गर्ने व्यवस्था गरियो । २०७९ सालको एसईईका हकमा साबिकको निर्देशिकाबमोजिम मूल्याङ्कन गरी नतिजा सार्वजनिक गरिनेछ ।