२०८१ मंसिर १४ , शुक्रवार

नर्सिङ काउन्सिलको परीक्षाको प्रश्नपत्र लिक गरेको आरोपमा तीन जना पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । नेपाल नर्सिङ काउन्सिलको परीक्षाको प्रश्नपत्र लिक गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-१६ बनस्थलीस्थित सिद्धार्थ बनस्थली इन्स्चिट्युडबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

 

शनिबार बिहान ९ बजेदेखि साढे ११ बजेसम्म सञ्चालन भएको नेपाल नर्सिङ काउन्सिलको नाम दर्ता परीक्षण परीक्षामा सहभागी भएका तीन जनालाई पक्राउ गरेको हो। कास्की पोखराकी २० वर्षीया समिक्षा थापा, २० वर्षीया भावना गुरुङ र धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-३ की २३ वर्षीया सबिना आलेमगर पक्राउ परेका हुन्। उनीहरू तीनै जना पोखराको अल ब्राइट इन्स्चिट्युडका विद्यार्थी हुन्। उनीहरूलाई पोखराबाट इन्स्चिट्युडका गाडी चालक तनहुँ व्यास नगरपालिका-५ का ५० वर्षीय चिजकुमार श्रेष्ठले काठमाडौं ल्याएका थिए।

 

 

उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो। तर चिट चोर्नेमा उनको भूमिका नदेखिएपछि प्रहरीले उनलाई बोलाएको बेलामा उपस्थित हुनेगरी छाडेको थियो। प्रहरीका अनुसार सबिना आले मगरले फोनबाट प्रश्नपत्र मेसेन्जर ग्रुपमा पठाएका थिए। त्यसपछि इन्स्चिट्युडका सदस्यले नै उत्तरहरू ग्रुपमा पठाएका थिए। उत्तर आएपछि विद्यार्थीहरूले चिट चोरेको पाइएको हो। उनीहरूमाथि शिक्षा ऐन अनुसार कारबाही अघि बढाउने परिसरले जनाएको छ। उक्त परीक्षामा १९३४ जना सहभागी भएका थिए।