सुनाखरी न्युज/ काठमाडौं ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत हिँडेका ११७ श्रमिकलाई विमानस्थलबाट फिर्ता पठाएको छ। कार्यालयले भिसा शंकास्पद देखिएको भन्दै बुधबार साँझ सलाम एयरमार्फत् कुवेत जान लागेका १०१ जना फर्काएको हो।
श्रम स्वीकृति लिएर हिँडेका ११७ श्रमिकहरूको कागजात शंकास्पद भेटिएपछि फर्काइएको कार्यालय प्रमुख रामबन्धु सुवेदीले जानकारी दिए। उनका अनुसार यसरी फर्काइएका अधिकांश महिला छन्। भिसा शंकास्पद देखिएपछि बिहीबार पनि कुवेत हिडेका १६ जनालाई फर्काएको हो।
उनीहरूले विभिन्न म्यानपावर कम्पनीमार्फत् श्रम स्वीकृति लिएका थिए। कुवेतस्थित विभिन्न कम्पनीहरूमा काम गर्ने भनेर श्रम स्वीकृति दिइएको थियो।
सोधपुछका क्रममा तथा कागजात हेर्दा अन्य कामको आवरणमा त्यहाँको घरेलु काममा लैजान लागेको देखिएपछि कार्यालयले उनीहरूलाई विमानस्थलबाटै फर्काएको कार्यालय प्रमुख सुवेदीले जानकारी दिए।
सरकारले घरेलु कामदारका रूपमा कुवेतसहित खाडीका सबै मुलुक र मलेसिया जान रोक लगाएको छ।
घरेलु काममा रोक लगाएकै अवस्थामा अन्य कामको आवरणमा जोखिमपूर्ण घरेलु काममै पठाउन लागेको पाइएपछि रोक लगाइएको उनको तर्क छ।