सुनाखरी न्युज / काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न समयमा अदालतबाट कैद र जरिवानाको फैसला भएका एक हजार नौ सय ९५ व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौँ प्रहरीले आर्थिक वर्ष २०७९÷८० मा आपराधिक क्रियाकलापमा संलग्न रही अदालतले कैद र जरिवाना फैसला सुनाएपछि फरार रहेका उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले विभिन्न मितिमा अदालतले कैद र जरिवानाको फैसला सुनाएकामा फरार रहेकाहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेस गरिएको जानकारी दिनुभयो ।
अदालतले पक्राउ परेका उनीहरुबाट रु १२ करोड ८७ लाख ९३ हजार जरिवाना असुल गरेको छ । यस्तै विभिन्न समयमा अदालतबाट कैद र जरिवाना ठहर भएका २३ हजार पाँच सय ९० व्यक्ति अझै फरार रहेको उहाँले बताउनुभयो । आव २०७९÷८० मा १८ हजार एक सय १२ मोबाइल हराएको भन्दै प्रहरी कार्यालयमा उजुरी परेको छ । हराएका मोबाइलमध्ये एक हजार छ सय ५० थान फेला परेको प्रवक्ता रिजालले बताउनुभयो । काठमाडौँ प्रहरीमा आव २०७९÷८० मा विभिन्न शीर्षकमा दुई हजार एक सय ६३ उजुरी दर्ता भएका छन् ।
दर्ता भएका निवेदनमध्ये सवारी साधनसम्बन्धी एक सय १६, रकम ठगीका नौ सय ९७, वैदेशिक रोजगारी ठगीका पाँच सय ४०, जग्गासम्बन्धी विवादका ४० र झैझगडा कुटपिटका ६३ उजुरी छन । यसैगरी, घरेलु हिंसाका १५, सहकारीसम्बन्धी ठगीका ५०, अनलाइन ठगीका ४०, चेकसम्बन्धी ठगीका दुई सय ७६, सरसामान चोरीका २१ र मोटरसाइकल चोरीका तीन उजुरी परेका छन । परेकामध्ये छ सय २१ उजुरी फछ्र्योट भएको र बाँकी पक्रियामा काठमाडौँ प्रहरीले जनाएको छ । रासस