२०८१ मंसिर १४ , शुक्रवार

ट्रायल पास गराइ लाइसेन्स बनाइ दिने भन्दै ठगी गर्ने समातिए

 

सुनाखरी न्युज  / काठमाडौं –  लाइसेन्स बनाइदिने र ट्रायल पास गराइदिने भनी करिब चार लाख तीस हजार रुपियाँ बराबरको रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी १३ एकान्तकुनाका ३० वर्षीय सम्राट समिर रागब भन्ने राजु परियार र काठमाडौं  १४ कलंकी सुनारगाउँ बस्ने ३६ वर्षीय ब्रम्ह रिसाल रहेका छन्। परियारलाई गएको शनिबार ललितपुरकै लुभबाट पक्राउ गरिएको सो कार्यालयका प्रवक्ता एवं एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।

 

पक्राउ पर्ने रिसाल भने कृष्ण ज्वेलर्स एन्ड सन्सका सञ्चालक हुन् । उनलाई हिजो काठमाडौंकै कालीमाटीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । परियारले आफू यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी रहेको बताउँदै रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार परियारले १२ जनाभन्दा बढी व्यक्तिहरूलाई लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने, प्रदूषण जाँचपास गराइदिने भन्दै विश्वास दिलाएका थिए । त्यसरी उनले नगद र सुनको गहना औँठीसमेत लिई चार लाख ३० हजार रुपैयाँबराबरको ठगी गरेको प्रहरीले जनाएको छ । त्यसरी ठगी गरी लिएको सुन रिसालले खरिद गरेका थिए । ठगी गरिएको सुन किनेर उनले गालेका थिए । गालेर ढिक्का बनाइराखेको सुन ११।६८० ग्रामसहित उनलाई पक्राउ गरिएको एसपी रेग्मीले जानकारी दिए ।