२०८१ मंसिर ९ , आइतवार

जुम्लामा बाह्र हजार पशु ‘लम्पी स्किन’बाट सङ्क्रमित

सुनाखरी न्युज  / काठमाडौं –  जुम्लाको आठवटै स्थानीय तहका करिब १२ हजारभन्दा बढी पशु ‘लम्पी स्किन’ रोगबाट सङ्क्रमित भएका छन् । जिल्लाभर प्रकोपको रूपमा फैलिइरहेको रोगले १२ हजार पाँच सय गाईभैँसी, गोरु, बाछाबाछी सङ्क्रमित भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले बताउनुभयो ।

 

कार्यालयबाट यहाँका स्थानीय तहलाई ७५ का दरले खोप वितरण गरिएको छ । बजेटको अभावले सम्बन्धित स्थानीय तहलाई औषधि खरिद गरी उपचार गर्न निर्देशन गरिएको छ । स्थानीय तहमै पशु प्राविधिक खटाएको कार्यालय प्रमुख बुढ्थापाको भनाइ छ । उक्त रोगबाट मरेका पशुको सङ्ख्या र विवरण पठाउन भनी जिल्लाका स्थानीय तहलाई पत्रचार गरिएको छ । यकिन तथ्याङ्क आउन केही साता लाग्ने पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाको प्रमुख बुढ्थापाले जानकारी दिनुभयो ।

 

 

पाँच सय पशुलाई खोप

जिल्लाका स्थानीय तहका करिब पाँच सय गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको पशु सेवा कार्यालयले जनाएको छ । खोप खरिद गरी पालिकामा कार्यरत पशु प्राविधिकबाट तिलाका नौवटै वडाका स्थानीयवासीको पशुलाई खोप लगाएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताउनुभयो । पालिकाको सबैभन्दा बढी वडा नं २ का पशु लम्पी स्किनबाट सङ्क्रमित भएका छन् । उक्त वडाका ४० वटा गाईगोरु मरेको जानकारी आएको उपाध्यक्ष बुढाको भनाइ छ । वडा नं १ मा पनि व्यापकरूपमा रोग फैलिएको स्थानीयवासी नरबहादुर रावतले जानकारी दिनुभयो । अहिलेसम्म तीन हजार गाईभैँसीलाई औषधि वितरण गरिएको तिला गाउँपालिकाको पशु सेवा कार्यालयले जनाएको छ । रोग न्यूनीकरणका लागि मल्हम, स्प्रे, ज्वरो नियन्त्रणका लागि औषधि, पोटास, लम्पी स्किनका कारण गाईभैँसी मर्न थालेपछि उच्च सतर्कता अपनाउन कृषकलाई अनुरोध गरिएको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।

 

गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, लिम्फनोड सुक्नेजस्ता लक्षण देखापर्छ । यो रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, झिङ्गालगायतको टोकाइबाट लाग्ने गर्दछ । सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दानापानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ । रासस