२०८१ मंसिर ९ , आइतवार

नेपाल-भारत सीमामा समातिएको गोलभेँडा

सुनाखरी न्युज/ काठमाडौं । १९ दिनअघि नेपाल—भारत पश्चिम सिमानाकाबाट भारतीय सीमा बल (एसएसबी) ले ठूलो परिमाणमा गोलभेँडा नियन्त्रणमा लिएको थियो । अहिले त्यही गोलभेडाका कारण भारतको भन्सार विभागका चार जना कर्मचारीलाई निलम्बनको स्थितिसम्म पुर्‍याएको छ । भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएअनुसार, भन्सार विभागका चार जना कर्मचारीलाई मङ्गलवार निलम्बन गरिएको हो ।

प्राप्त समाचार अनुसार, जुलाई ७ तारिखमा भारतको महाराजगन्ज प्रहरी र एसएसबीको संयुक्त टोलीले करिब चार लाख ८० हजार भारतीय रुपैयाँ बराबरको गोलभेँडा बरामद गरेको थियो । गोलभेँडा अवैध रूपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा बरामद गरिएको समाचारमा जनाइएको छ । त्यसपछि प्रहरी र एसएसबीको संयुक्त टोलीले त्यो गोलभेँडा सम्बन्धित भन्सार कार्यालयलाई बुझाएको थियो ।

नियम अनुसार, यसरी बरामद गरिएको अवैध गोलभेँडा २४ घण्टाभित्र नष्ट गरिनु पर्ने थियो । भन्सार कार्यालयले पनि गोलभेँडा नष्ट गरिएको प्रतिवेदन तयार पारेको थियो । घटनाक्रम जुलाई ७ तारिखमा सुरु हुन्छ । महाराजगन्ज जिल्लाको प्रहरी र एसएसबीले गोलभेँडासहितको दुई वटा जिपलाई नियन्त्रणमा लिएको थियो ।

 

जुलाई ७ तारिखमा समातिएको गोलभेँडा २४ घण्टाभित्र नष्ट गर्नु पर्नेमा गोलभेँडासहितको जिप छाडेको हुनसक्ने अनुमानमा उनीहरुलाई निलम्बन गरिएको समाचारमा जनाइएको छ । उनीहरुले भने आफूहरूमाथि लागेको आरोप निराधार रहेको दाबी गरेका छन् । केही वरिष्ठ अधिकारीहरूले भने जुलाई ७ र जुलाई ८ तारिखमा समातिएको जिप फरक—फरक रहेको दाबी गरेका छन् ।