२०८१ मंसिर ९ , आइतवार

 पश्चिम म्याग्दीमा दुई सय ३८ मेगावाटका १३ जलविद्युत् आयोजना

सुनाखरी न्युज/ काठमाडौं । म्याग्दीको पश्चिमी क्षेत्रमा दुई सय ३८ दशमलव २३ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना निर्माणाधीन र निर्माणको चरणमा प्रवेश गरेका छन् ।
नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको पश्चिमी भेगमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्न प्रसारण लाइन र सबस्टेशन बनाउन थालेपछि जलविद्युत् आयोजना धमाधम निर्माण हुन थालेका हुन् ।
प्राधिकरणले मालिका गाउँपालिका–७ मा एक सय ३२ केभी क्षमताको सबस्टेशन र त्यहाँदेखि राहुघाट जोड्ने प्रसारण लाइन निर्माण अन्तिम चरणमा पु¥याएको छ । डाँडाखेत सबस्टेशन र प्रसारण लाइन निर्माण हुन थालेपछि अनुमति लिएर बसेका प्रवर्द्धक सक्रिय भएका हुन् ।
सन् २०२४ भित्र डाँडाखेत सबस्टेशन र प्रसारण लाइन निर्माण गर्ने तयारीसहित काम थालिएको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले बताउनुभयो ।
जलविद्युत् आयोजनाले मालिका गाउँपालिकाको शिवरात्रिखोलादेखि भारवाङ, कल्लेनी, छहरी, खारा, खाम्ला हुँदै नाउरासम्म १० किलोमिटरभन्दा बढी सडक मार्ग खोलेका छन् । शिवरात्रिखोलाको पहरामा अड्किएको सडक निर्माणको काम धवलागिरि गाउँपालिकाले बजेट विनियोजन गरेर सफल बनाएको थियो । शिवरात्रि खोलामामार्ग खोलेपछि त्यसअघि सडक निर्माण भएको हो । विभागका अनुसार हाइड्रो इम्पायर प्रालि काठमाडौँले धवलागिरि–४ मा ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणको अनुमति लिएको छ ।
आयोजनाका अध्यक्ष जीतबहादुर घर्तीले पहुँचमार्ग निर्माण सकेर सुरुङ, विद्युत्गृह निर्माणको काम थालिएको बताउनुभयो । सिन्कोस र म्याग्दीखोलाको दोभानभन्दा एक सय ३० मिटर तल म्याग्दीखोलाको दायाँ किनारमा आयोजनाको बाँध प्रस्ताव गरिएको छ । धौलागिरि हिमालको फेदी भएर बग्ने म्याग्दी नदीबाट विद्युत् उत्पादनका लागि विद्युत् विकास विभागबाट तीन आयोजनाले निर्माणको अनुमति पाएका छन् । त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी पहिलो, १४ दशमलव ७० मेगावाट क्षमताको मुदीखोला र ५७ दशमलव ३० मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनाले निर्माणको अनुमति लिएका छन् ।
म्याग्दी खोला जलविद्युत् आयोजनाको प्रवर्द्धक हाइड्रो भिलेज प्रालि र ऊर्जा डेभलपर्सबीच गत वर्ष लगानी सम्झौता भएको थियो । अपर म्याग्दी जलविद्युत् आयोजनाले छहरीमा साइट कार्यालयको भवन बनाएको छ । धवलागिरि–४ मा दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडको २३ दशमलव ७० मेगावाट क्षमताको म्याग्दी खोला ‘ए’ र धवलागिरि–१ गुर्जामा १५ मेगावाट क्षमताको धौलाखोला जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा छन् ।
एभरेष्ट इनर्जी एण्ड इन्फ्रास्ट्रक्चर प्रालिले धवलागिरि–४ मा १४ दशमलव ७० मेगावाट क्षमताको मुदी खोला निर्माणको अनुमति पाएको छ । सुशमित हाइड्रोपावर लिमिटेडले धवलागिरिमा २० मेगावाट क्षमताको कुनबानखोला जलविद्युत् आयोजना निर्माणका लागि अनुमति मागेको छ ।
दरखोला हाइड्रोपावर लिमिटेडले छ दशमलव पाँच मेगावाट क्षमताको दरखोला साना जलविद्युत् आयोजना, सिम्कोश हाइड्रोपावर लिमिटेडले धवलागिरि–४ मा तीन दशमलव ४५ मेगावाट क्षमताको सिम्कोश जलविद्युत् आयोजना, फ्रेस वाटर इनर्जी नेपालले धवलागिरि–४ मुदीमा १२ दशमलव ७३ मेगावाट क्षमताको अपर मुदी र सुशमित इनर्जीले धवलागिरि–४ मुदीमा नौ दशमलव पाँच मेगावाट क्षमताको म्याग्दीखोला ‘बि’जलविद्युत् आयोजना सर्वेक्षणको अनुमति लिएका छन् ।
प्रकाश जोशीले धवलागिरि गाउँपालिकाको मुदीमा चार दशमलव छ मेगावाट क्षमताको तिरिजाखोला जलविद्युत् आयोजना सर्वेक्षणको अनुमति लिनुभएको छ । जलविद्युत् आयोजना भित्रिएसँगै सडकलगायत भौतिक पूर्वाधार निर्माणले गति लिने, आयोजनाले बनाएका पूर्वाधारबाट सर्वसाधारणलाई सुविधा पुग्ने, रोजगारी र लगानीको अवसर पाउनुका साथै दीर्घकालीन हिसाबले गाउँपालिकालाई विद्युत् रोयल्टी आम्दानी हुने मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । रासस