सुनाखरी न्युज/ काठमाडौं ।
सदरमुकाम बागलुङ बजारमा एकमात्रै सरकारी अस्पताल छ भने कुश्मीशेरा, गलकोट र बुर्तिबाङमा प्राथमिक स्वास्थ्य केन्द्र छन् । भौगोलिक अवस्थाका कारण यहाँका गर्भवतीलाई सुत्केरी हुने समयमा नजिकैमा ‘बर्थिङ सेन्टर’ नहुँदा सधैँ सास्ती हुने गरेको थियो ।
स्थानीय, प्रदेश र सङ्घ सरकारअन्तर्गतका कार्यालय र सामाजिक संस्थाको सहकार्यमा बागलुङमा ३६ ‘बर्थिङ सेन्टर’ सञ्चालनमा आएका छन् । पछिल्लो छ वर्षमा दश स्थानीय तहका ३६ स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर विस्तार गरिएपछि प्रसूति सेवा सहज बन्दै गएको छ ।
ग्रामीण स्वास्थ्य सुधार परियोजना, बिवाइसी बागलुङ र फेयरमेड फाउण्डेसनले तीनै तहका सरकारसँगको सहकार्यमा जिल्लामा सेन्टर विस्तार गरेका हुन् । “स्थानीय तह गठनपछि आमा र बच्चाको सुरक्षामा ध्यान पुगेको छ । साझेदार संस्थाले सक्रियताका साथ सहयोग गरिरहेकाले स्थानीय तहमा बर्थिङ सेन्टरका लागि संरचना र जनशक्ति तयार गर्न सफल भयौँ”, विवाइसी बागलुङका अध्यक्ष मणिभद्र शर्माले भन्नुभयो, “छ वर्षको अवधीमा प्रसूतिका लागि आवश्यक स्वास्थ्य सामग्रीसहित लिएर पुगेका ठाउँमा प्रभावकारीरुपमा सेन्टर सञ्चालन भएका छन् ।”
“भूगोलका कारण अस्पताल र स्वास्थ्य केन्द्रमा पुग्न कठीन हुने हुँदा कयौँ गर्भवतीको सुत्केरी हुन नसकेर ज्यान गएका घटना छन्”, उहाँले भन्नुभयो, “नजिकैका स्वास्थ्य संस्थामा ‘बर्थिङ सेन्टर’ नभएकाले गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्य जोखिममा हुने गरेकामा अब भने प्रसूति सेवा केही सहज बन्दै गएको छ ।” परियोजनाले जिल्लाका केहीमा बच्चाको धड्कन नाप्ने मेसिन, चारमा भिडियो एक्सरे मेसिन र १७ स्वास्थ्य संस्थामा प्रयोगशाला उपलब्ध गराएको जनाएको छ ।
“सरकारले योजना नबाएर काम गर्न नसक्दा अझै पनि सहयोगी गैरसरकारी संस्थाको साथ खोजिरहनुपरेको छ”, जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले भन्नुभयो, “स्रोतसाधनको परिचालनमा सरकारनै जिम्मेवार भएर लाग्नुपर्छ, सहयोगी संस्थाको साथ आवश्यक छ ।” उहाँले सरकारको ध्यान नपुगेको ठाउँमा परियोजनाले ध्यानाकर्षण गराएको बताउनुभयो ।
स्थानीय सरकारसँग इच्छाशक्ति भएर पनि स्रोत नहुने र प्रदेश तथा सङ्घ सरकारसँग चरणबद्ध विकासको योजना नभएकै कारण अझैपनि स्वास्थ्य क्षेत्रमा समस्या रहेको उहाँको भनाइ थियो । जिल्लाभर स्थापना भएका ‘बर्थिङ सेन्टर’, प्रयोगशाला र ‘गाउँघर खोप क्लिनिक’जस्ता योजनाअन्तर्गत बनेका संरचनाले स्वास्थ्य सुधारमा सहयोग पु¥याउने प्रमुख थापाले बताउनुभयो ।
परियोजनामार्फत् छ वर्षमा जिल्लाभर २० प्रसूति प्रतिक्षाघर, १८ गाउँघर खोप क्लिनिकका लागि भवन तयार भएको फेरमेड फाउण्डेसनका कार्यक्रम संयोजक गणेश बरुवालले बताउनुभयो । उहाँका अनुसार परियोजनाले ‘बर्थिङ सेन्टर’ स्थापना र स्तरोन्नति, स्वास्थ्य उपकरण मर्मतलगायत क्षेत्रमा काम गर्दै आएको छ । यहाँ सञ्चालित बर्थिङ सेन्टरका कारण प्रसूति सेवा सहज बन्दै गएको स्थानीय बताउँछन् ।
रासस