२०८१ मंसिर १० , सोमवार

व्यासका विकट क्षेत्रमा ‘गाउँघर क्लिनिक’

byas

सुनाखरी न्युज/ काठमाडौं ।
व्यास नगरपालिकाले विकट क्षेत्रका गाँउघर पुगेर स्वास्थ्य सेवा दिने उद्देश्यले ‘गाउँघर क्लिनिक’ सञ्चालनमा ल्याएको छ । भौगोलिक विकटता, यातायातको समस्यालगायत कारणले स्वास्थ्य सेवाबाट वञ्चित भएका गाउँमा नगरपालिकाले उक्त अभियान सञ्चालन गरेको हो ।

बजार क्षेत्रसँग जोडिए पनि भौगोलिक रुपमा विकट रहेका वडामा घरमै स्वास्थ्य पहुँच पुर्‍याउनका लागि क्लिनिक सञ्चालनमा ल्याइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नगरपालिका भित्रका कतिपय गाँउ अझै विकट छन्, स्वास्थ्यको पहुँच पुग्न सकेको छैन”, उहाँले भन्नुभयो, “उक्त क्लिनिकमार्फत हरेक महिनामा विकट गाउँमा स्वास्थ्यकर्मी सहितको टोली पुगेर जाँचगरी औषधि वितरण गर्नेछन् ।”

उक्त कार्यक्रममा परिवार नियोजन, सुरक्षित मातृत्व र नवजात शिशु स्वास्थ्य सेवा, गर्भपतनका जटिलताको रोकथामबारे परामर्श, यौनरोग तथा बाँझोपनबारे परामर्श, पाठेघर खस्ने समस्याको परीक्षण, किशोरकिशोरीको स्वास्थ्य सेवा, बाल स्वास्थ्य सेवा र साधारण उपचारलगायत सेवा दिइने जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य जाँच गरेपछि निःशुल्करुपमा पनि औषधि वितरण गर्ने गरिन्छ ।

गाउँघरमै स्वास्थ्य सेवा पुग्न थालेपछि वडामा रहेको स्वास्थ्यचौकीमा आउने बिरामीको चाप कम भएको पतेनी आधारभूत स्वास्थ्यचौकीका इञ्चार्ज सुनिता श्रेष्ठले बताउनुभयो । गाउँघरका महिलाले पुरुष चिकित्सक तथा स्वास्थ्यकर्मीसँग खुलेर आफ्ना समस्या राख्न नसक्ने भएकाले यस कार्यक्रममा महिला टिम खटाइएको नगरपालिकाले जनाएको छ ।
रासस