सुनाखरी न्युज/ काठमाडौं ।
यहाँका सडकले गर्दा रहेक वर्ष रोल्पालीले अकालमै ज्यान गुमाउनुपरेको छ । गत मङ्गलबार जिल्लाको परिवर्तन गाउँपालिका वाग्मारावाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्बरको बस दुर्घटना हुँदा चारको मृत्यु र १९ घाइते भएका थिए ।
दुर्घटना शहीदमार्ग सडक खण्डअन्तर्गत त्रिवेणी गाउँपालिका–७ तिलारिचिमा भएको थियो । सडकदेखि करिब एक सय ५० मिटर तल खसेको उक्त बसमा २३ जना यात्रु सवार रहेका जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिनुभयो । दुर्घटनामा एक दम्पत्तीसहित थप दुईको मृत्यु भएको थियो ।
माडी–४ रोल्पाका ५० वर्षीय गोर्खे डाँगी र उहाँकी ५० वर्षीया श्रीमती हस्ता डाँगीको एउटै चिहान भयो । प्रहरीका अनुसार उनीहरु उपचारका लागि जिल्लाबाट दाङ घोराही तर्फ जाँदै थिए । मृत्यु हुनेमा माडी–२ का २२ वर्षीय प्रकाश बाँठामगर र परिवर्तन–३ का ४६ वर्षीय भक्त विक रहेका सूचना अधिकारी भुसालले बताउनुभयो ।
घाइते १९ मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । घाइते सबैको घटनास्थलमा प्राथमिक उपचार गरी थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको सूचना अधिकारी भुसालले जानकारी दिनुभयो ।
सशस्त्र युद्धका समयमा निर्माण सुरु गरिएको शहीद मार्ग जिल्लाको रुन्टीगढी, त्रिवेणी, रोल्पा नगरपालिकाका साथै माडी, परिवर्तन र थवाङ गाउँपालिकाको भूभाग भएर जान्छ । उक्त खण्डले दाङको घोराहीदेखि रोल्पाको थवाङ खण्ड र रुकुमको चुनवाङसम्म जोड्छ । निर्माण सुरु हुँदाका बेला उक्त सडक खन्न रोल्पा, रुकुम, सल्यान, जाजरकोट, दाङ,पाल्पा, गुल्मी, अर्घाखाँची, म्याग्दी, पर्वतका जनताले दुई पटक गरी २०÷२० दिन श्रमदान गरेका थिए ।
आर्थिक वर्षको सुरुआतमै जिल्लामा भएको भयावह दुर्घटना पहिलो वा एकमात्र भने होइन । प्रत्येक वर्ष यसैगरी दुर्घटना भएर ठूलो धनजनको क्षति हुने गरेको छ । शहीद मार्गसँगै जिल्लामा पछिल्लो समय सडकको पहुँच विस्तार भएका छन् । सङ्घ, प्रदेश र स्थानीय तहका बजेटको ठूलो हिस्सा सडकमा खर्च हुँदा यहाँका भित्री गाउँमासमेत सडक सञ्जाल विस्तार भएका हुन् । सडक सञ्जाल विस्तारसँगै जिल्लामा सवारी दुर्घटनासमेत बढ्दै जान थालेका स्थानीय बताउँछन् ।
आर्थिक वर्ष २०७९÷८० मा ७२ सवारी दुर्घटना भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । जिल्लामा सबैभन्दा धेरै दुर्घटना हुनेमा मोटरसाइकल देखिएको छ । उक्त वर्ष ३१ मोटरसाइकल, कार, जीप र भ्यान १६, ट्र्याक्टर १०, टेम्पो आठ, बस पाँच, टिपर चार, ट्रक र एम्बुलेन्स दुई÷दुईवटा दुर्घटना भएको कार्यालयले जनाएको छ । ती दुर्घटनामा १८ ले ज्यान गसमाउनुका साथै एक सय ५२ जना घाइते भएका थिए ।
चालु आवमा सबैभन्दा बढी सवरी दुर्घटना हुनेमा सुनिलस्मृति गाउँपालिका देखिएको छ । उक्त पालिकामा हालसम्म २२ दुर्घटना भएका जनाइएको छ । ती दुर्घटनाबाट चारको मृत्यु र ३३ घाइते भएका थिए । त्रिवेणीमा १२, रुन्टीगढीमा १०, माडीमा छ, गङ्गादेवमा चार, परिवर्तनमा छ, थवाङ गाउँपालिकामा तीन सवारी साधन दुर्घटना भएका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै, रोल्पा नगरपालिकामा १३ सवारी दुर्घटनामा परी चारको मृत्यु र २१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार सारु मगरले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा हुने अधिकांश दुर्घटना तीव्र गति, क्षमता भन्दा बढी यात्रु चढाउने, चालक अनुमतिपत्र बिना नै सवारी साधन चलाउनेलगायत कारण रहेका छन् । “सवारी चलाउँदा लापरबाही गर्नु, गाडीका छत तथा पिकअपको खुल्ला भागमा चढे्र यात्रा गर्नु, मादकपदार्थ सेवन गरी सवारी चलाउनुलगायत हुन्”, उहाँले भन्नुभयो ।
साघुँरा सडक, क्षमता भन्दाबढी यात्रु, यातायात व्यवसायी समितिको अस्वस्थ्य प्रतिस्पर्धा, मादक पदार्थको सेवन गरी सवारी चलाउनु जस्ता कारणले दुर्घटना गराउन भूमिका खेल्ने नागरिकको गुनासो छ । हिउँदमा धुलाम्य र वर्षातमा हिलाम्य सडकका कारण दुर्घटना बढे्का स्थानीयको भनाइ छ ।
चालकलाई जिम्मेवार बनाउन नियमित स्वास्थ्य जाँच गराउने, मानसिक स्वास्थ्यप्रति सचेत रहन ध्यानाकार्षण गराउने, ट्राफिक नियमका सम्बन्धमा समयसमयमा सचेतनामूलक कार्यक्रम गर्नुपर्ने पत्रकार काशीराम डाँगीले सुझाव दिनुभयो ।
जिल्लामा बढेको सवारी दुर्घटनासँगै जिल्ला अदातलमा सवारी दुर्घटनासम्बन्धी मुद्दाको सङ्ख्यासमेत बढेका छन् । गत आर्थिक वर्षमा ज्यान वा अङ्गभङ्ग वा घाइते भएको कसुरमा १४ मुद्दा परेका अदालतले जनाएको छ ।
रासस