सुनाखरी न्युज/ काठमाडौं ।
दार्चुला जिल्ला अदालतमा सम्बन्धविच्छेद गराउनेको सङ्ख्या बढ्दै गएको छ । विगत दुई आर्थिक वर्ष र चालु आर्थिक वर्षको एक महिनामा उक्त रहेका सम्बन्धविच्छेदका मुद्दाको तथ्याङ्कले त्यस्ता मुद्दाको सङ्ख्या बढ्दै गएको देखाएको हो । गत आर्थिक वर्षमा अदालतमा दर्ता भएका मुद्दाहरुमध्ये २४ दशमलव ८७ प्रतिशत मुद्दा सम्बन्धविच्छेदसम्बन्धी थिए भने चालु आर्थिक वर्षको एक महिनामा यस्ता मुद्दाको प्रतिशत ३६ दशमलव ३६ प्रतिशत पुगेको छ ।
गत आर्थिक वर्षमा दर्ता भएका दुई सय पाँचमध्ये ५१ मुद्दा सम्बन्धविच्छेदसम्बन्धी मुद्दा रहेको अदालतका सूचना अधिकारी गणेशबहादुर बिष्टले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा ४६ मुद्दा अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका हुन् भने पाँच मुद्दा नयाँ रहेका छन् । त्यस्तै चालु आर्थिक वर्षको दुई महिनामै आठ नयाँ मुद्दा दर्ता भएका छन् ।
चालु आर्थिक वर्षको दुई महिनामा आठ नयाँ र १३ गत वर्षबाट जिम्मवारी सरी आएका गरी २१ सम्बन्ध विच्छेदका मुद्दा जिल्ला अदालतमा विचाराधीन रहेको सूचना अधिकारी विष्टले बताउनुभयो । आव २०७८÷७९ मा भने सम्बन्धविच्छेदसम्बन्धी ४७ मुद्दा थिए । गत वर्ष एकजोडीले मुद्दा फिर्ता लिएकै दोस्रो दिन पुनः सम्बन्धविच्छेदका लागि निवेदन दिएर सम्बन्धविच्छेद गराएका थिए । सम्बन्धविच्छेदका लागि पुरुषभन्दा महिलाहरुले बढी मुद्दा दिएको पाइएको छ ।
अदालतका अनुसार आव २०७९÷८० मा अभिलेख कायम गरिएका ४९ सम्बन्धविच्छेदका मुद्दाहरुमध्ये ६५ प्रतिशतभन्दा बढी (३३जना)महिलाहरुका तर्फबाट उजुरी परेका थिए भने पुरुषहरुको सङ्ख्या १६ मात्रै रहेको थियो ।
रासस