२०८१ कार्तिक २० , मंगलबार

खेतमा धानका गाभा, बारीमा सिरु र झार

dhan

सुनाखरी न्युज/ काठमाडौं ।
जिल्लाका लेकाली क्षेत्रका खेतमा धानका गाभा भरिन थालेका छन् । यस वर्ष पर्याप्त वर्षा नभएकाले जेनतेन रोपाइँ गरेका किसान रोपो (खेत)को स्याहारमा व्यस्त भए पनि उनीहरूले बारीमा कोदो रोप्न भने चासो दिएका छैनन् ।

कोदो उत्पादन हुने बारी बाँझै छन् । नेपालमा बर्सेनि करोडौँ रुपैयाँका कोदो आयात भइरहेको भए पनि कोदो उत्पादन हुने गाउँका बारी वनमाराले ढाकिएका छन् । कसैकसैले बारीका कान्ला र गरामा फलफूल खेती गरेका भए पनि अधिकांशका बारीमा सिरु पmुलेको छ ।

म्याग्दीका ग्रामीण भेगबाट समेत कोदोखेती हराउँदै गएको छ । कुनै समयको महत्त्वपूर्ण खाद्यान्न बाली कोदो अहिले सहरी क्षेत्रका बालबालिकाका लागि मात्रै होइन, ग्रामीण क्षेत्रका वयस्कहरूका लागि समेत दुर्लभजस्तै बन्दै गएको छ ।

कोदो फल्ने बारी थलिएका छन् । वनमारा र बोकेझारले बारी ढाकेको बेनी नगरपालिका–२ ज्यामरुककोटका हरि शर्माले बताउनुभयो ।

करिब १० वर्षअघिसम्म १० मुरी कोदो उत्पादन हुने बारीमा अहिले मुस्किलले १० पाथी उत्पादन हुने गरेको उहाँले बताउनुभयो । “कोदो रोप्नै छाडे, कोदो रोप्ने बारीमा झारैझार छ, अनि कहाँबाट फलोस् कोदो ?”, स्थानीय ५७ वर्षीय शर्माले भन्नुभयो । उहाँका अनुसार कोदो लगाउने जग्गा बाँझै भइसकेको छ ।

काम गर्ने जनशक्ति नहुनु, खेताला खोजेर काम लगाए पनि धानको जस्तो मूल्य कोदोले नपाउँदा कोदो हराउँदै जान थालेको कृषकहरूले बताएका छन् । रघुगङ्गा गाउँपालिका–६ पाखापानीका बलबहादुर शेरपुजाको घरमा पनि खेती गर्ने मानिस छैनन् । उहाँको परिवारमा श्रीमती, एक छोरा र बुहारी छन् । छोराले बेनी बजारमा व्यापार गर्नुहुन्छ भने बुहारीले घरमा नै पसल गर्नुहुन्छ । वर्षौँ पहिलेसम्म मुरीका मुरी कोदो फलाउने उहाँको घरमा पछिल्लो समय एक दाना पनि छैन ।

कोदो फलाउने रहर भएर पनि बुढेसकालमा खेती गर्न नसकेको उहाँले बताउनुभयो । “कोदो खाँदा के फाइदा हुन्छ भन्ने कुरा अहिलेकालाई थाहा छैन, कोदोले दिने बल धानको भातले कहाँ दिन्छ र ?”, उहाँले सम्झिनुभयो, “हामी साना हुँदा कोदोको ढिँडो र तरकारीसँग एक पेट भरेपछि ज्यान बन्थ्यो, दिनभर काम गर्न सकिन्थ्यो ।” अहिलेका युवाहरूले कोदोको महत्व नबुझेका कारण उनीहरूमा पाको पुस्ताको जस्तो बल नभएको र निरोगी पनि हुन नसकेको उहाँको भनाइ छ ।

औषधीय गुण भएको तागतिलो खाद्यान्न मानिने कोदोको खेती गाउँघरतिर निकै कम हुँदै गएको मालिका गाउँपालिकाको ओखरबोटका ६४ वर्षीय भवीराज विकले बताउनुभयो । कोदोको खेती गर्ने चलन कम हुँदै गएपछि उत्पादन पनि ह्वात्तै घटेको छ । कोदोको उत्पादन घटेसँगै यसको उपभोग पनि गाउँघरतिर कम हुँदै गएको स्थानीयले बताएका छन् । भएको कोदो पनि रक्सी पार्न (घरेलु मदिरा उत्पादन गर्न)का लागि प्रयोग हुन थालेपछि रोटी, ढिँडो, पिठो बनाएर खाने चलन हराउँदै गएको अर्मनका कृषक श्यामलाल सापकोटाले बताउनुभयो ।

गाउँघरमा कोदोको प्रयोग कम हुँदै गएको भए पनि सहरका होटलले भने कोदोका परिकारलाई नै आकर्षणका रूपमा राख्न थालेका छन् । होटलमा आउने पाहुनाहरूले बजारमा बेच्न राखिएको चामलभन्दा गाउँमा उत्पादित कोदोको परिकार खोज्ने र मूल्य पनि बढी तिर्ने गरेका बेनीको होटल यतीकी सञ्चालिका विमला गौचनले बताउनुभयो ।

त्यसैगरी गाउँगाउँमा सञ्चालित होमस्टे (घरबास)मा पनि कोदोको परिकारलाई प्राथमिकतामा राख्ने गरेको पाइएको छ । कोदोलाई खानाका रूपमा प्रयोग गर्नुपर्ने ठाउँमा घरेलु मदिरा बनाउन प्रयोग हुने गरेको छ । जिल्ला प्रहरी कार्यालयले घरेलु मदिरा उत्पादनमा कोदोको प्रयोगलाई रोक लगाएको छ ।

चिकित्सा विज्ञानले खाद्यान्नका रूपमा कोदोको प्रयोग गर्नु राम्रो हुने बताएको छ । चिनी र प्रोटिनको मात्रा कम हुने भएकाले सबै खालका मानिस र बिरामीका लागि कोदो राम्रो मानिने चिकित्सकको भनाइ छ । कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायतका तत्व पाइने ज्यामरुककोट स्वास्थ्यचौकीका चिकित्सक खगराज निउरे बताउनुहुन्छ ।

तौल घटाउन, मुटु सम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन पनि कोदोलाई राम्रो मानिने उहाँको भनाइ छ । म्याग्दीको २० हजार चार सय ८२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमध्ये पाँच सय हेक्टरमा कोदोखेती हुने गरेको जनाइएको छ ।
रासस/ ध्रुवसागर शर्मा