सुनाखरी न्युज/ काठमाडौं ।
खेल पोसाक तथा सामग्री उत्पादक कम्पनी ली–निङले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापोको सम्मानमा एटीएस १६ लेखेको जर्सी पनि बजारमा ल्याएको छ । गोलरक्षक एन्जिला १६ नम्बर जर्सीमा खेल्छिन् । राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंह, महिला फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जन, पूर्वमिडफिल्डर प्रदीप महर्जन, बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ र चाइना ट्रेडिङका अध्यक्ष राजन महर्जनले एटीएस १६ लेखेको चार फरक रंगको जर्सी सार्वजनिक गरे ।
खेल पोसाक तथा सामग्री उत्पादक कम्पनी ली–निङले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बासँगको सम्झौतालाई निरन्तरता दिएको छ । ली निङको नेपालको आधिकारिक बिक्रेता चाइना ट्रेडिङ कम्पनीले शनिबार एन्जिलासँगको सम्झौता नवीकरण गरेको हो ।
ली–निङले एन्जिलाको जीवन कथामा बनिरहेको फिल्म ‘एन्जिला’ मा पनि साथ दिइरहेको छ । गत वर्ष आफूलाई ली–निङले आबद्ध गरेपछि अन्य दुई खेलाडीले पनि प्रायोजन पाएको सन्दर्भ निकाल्दै एन्जिलाले आउने दिनमा अरू खेलाडीलाई बाटो खुल्ने बताइन् । चीनमा हुने एसियाली खेलकुदको तयारीमा रहेका उनीसहित महिला राष्ट्रिय टोली कार्यक्रममा उपस्थित थिए ।
एन्जिला र उपेन्द्रमानले ली–निङको दरबारमार्गस्थित नयाँ सोरुम पनि उद्घाटन गरे । ली–निङले यो पाँचौं सोरुम भएको जनाएको छ । चाइना ट्रेडिङका अध्यक्ष महर्जनले खेलाडीले खेलेर मात्र नपुग्ने जनाउँदै उनीहरूलाई स्तरीय बनाउनु आफूहरूको दायित्व भएको बताए । ली–निङले ‘ए’ डिभिजन क्लब संकटा, ‘बी’ डिभिजन क्लब मध्यपुर युथसहित राष्ट्रिय बास्केटबल टोलीलाई प्रायोजन गर्दै आएको छ ।