२०८१ आश्विन ६ , आइतवार

संसद् गतिरोध अन्त्य र सुन तस्करीको अनुसन्धानका लागि छानबिन समिति बनाउन सर्वदलीय बैठक बस्ने तयारी

sarbadaliya Baithak

सुनाखरी न्युज/ काठमाडौं ।
संसद् गतिरोध अन्त्य र सुन तस्करीको अनुसन्धानका लागि छानबिन समिति बनाउन सर्वदलीय बैठक  बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तयारी छ ।

आजको बैठकमा मस्यौदा समितिले उच्चस्तरीय छानबिन समिति कस्तो बनाउने भनेर तयार पारेको ड्राफ्टलाई शीर्ष नेताहरूले अन्तिम टुंगो लगाउने बताइएको छ । तीन सदस्यीय मस्यौदा समितिले मंगलबार नै ड्राफ्ट तयार पारेर शीर्ष नेतालाई बुझाइसकेका छन् ।

 

एमालेकै मागअनुसार सत्तापक्ष जाँचबुझ आयोग गठनका लागि लचक बनेपछि मंगलबारदेखि सदन खुल्ने बताइए पनि एमाले अध्यक्ष ओली बैठकमा नआएपछि प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित गरिएको थियो।

सोमबारको सर्वदलीय बैठकमा आयोग गठन गर्ने समझदारी बने पनि त्यसको क्षेत्राधिकारलगायत विषयमा मस्यौदा तयार पार्न एमाले संसदीय दलका उपेनता सुवास नेम्वाङ, कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र माओवादीका प्रमुख सचेतक हितराज पाण्डेको तीन सदस्यीय कार्यदल बनाइएको थियो ।

कार्यदलले तयार पारेको मस्यौदामा सुन तस्करीका समग्र घटनाको छानबिन गर्ने गरी उच्च अदालतका न्यायाधीशको नेतृत्वमा जाँचबुझ आयोग गठन गर्ने प्रस्ताव छ ।