२०८१ मंसिर ९ , आइतवार

गण्डकीमा ९८ प्रतिशत घरमा बिजुली, उज्यालो प्रदेश घोषणा यसै वर्ष

Capture (15)

सुनाखरी न्युज/ काठमाडौं । गण्डकी प्रदेशमा आधुनिक ऊर्जाको पहुँच विस्तार गरी प्रदेशलाई उज्यालो प्रदेश घोषणाका लागि सरकारले काम अघि बढाएको छ ।

प्रदेशमा विद्युत््को पहुँच नपुगेका दुई हजार आठ सय ८४ घरधुरीमध्ये बागलुङको ढोरपाटन नगरपालिकाका तीन सय ९१ घरधुरीमा विद्युत् विस्तारको काम सुरु भएको छ ।

बाँकी घरमा समेत यसै वर्षभित्र विस्तार गरिसक्ने ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको तयारी छ । ऊर्जा तथा जल स्रोतमन्त्री सरस्वती अर्याल तिवारीका अनुसार ढोरपाटन नगरपालिका–६ छेन्तुङका ती घरमा घरेलु सौर्य ऊर्जा जडान सुरुआत गरिएको र मङ्सिरभित्र बत्ती बल्नेछ । अहिलेसम्म करिब ९८ प्रतिशतको पहुँचमा बिजुली पुगेको बताइन्छ ।

मन्त्रालयमा एक सय दिनमा भएका गरेका कार्यप्रगति आज सार्वजनिक गर्न आयोजित कार्यक्रममा मन्त्री अर्यालले नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा प्रदेशभर आधुनिक ऊर्जा विस्तार गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “उज्यालो गण्डकी प्रदेश यथाशीघ्र घोषणाका लागि सङ्घ सरकारसँग समेत सहकार्य गरेका छौँ । विद्युत् प्राधिकरणको बिजुली विस्तार हुन सम्भव ठाउँसम्म बिजुली पु¥याउने छौँ, प्राधिकरणले विस्तार नगर्ने ठाउँमा हामी सोलार बत्ती भए पनि पु¥याउँछौँ ।”

मन्त्रालयले पानीका लागि घण्टौँसम्म डोकोमा गाग्री बोक्नुपर्ने बाध्यता हटाइने जनाएको छ । एक गाग्री पानीका लागि बिहानभर पालो पर्खनुपर्ने बाध्यता हटाउनका लागि अभियानका रूपमा एक घर एक धारा कार्यक्रम सञ्चालन गरिने मन्त्री तिवारीले बताउनुभयो ।

मन्त्रालयले प्रदेशका ११ वटै जिल्लाका स्थानीय तहलाई परिपत्र गरी आफ्नो पालिकामा पानीको स्रोत अभावले समस्या भएका ठाउँको पठाउन आग्रह गरेको थियो । स्थानीय तहले पठाएका आधारमा डोकोमा गाग्री बोक्नुपर्ने बाध्यता हटाउनका लागि यस वर्ष बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।

“पानीको अभाव भएका ठाउँमा यस वर्ष योजना दिएका छौँ”, मन्त्री तिवारीले भन्नुभयो, “जतिसक्दो छिटो आधारभूत खानेपानीको समस्या समाधान हुन्छ । डोकोमा गाग्री बोकेर अब हिँड्नुपर्दैन ।” चालु वर्षमा सिँचाइ तथा नदी नियन्त्रणतर्फ रु १० लाखभन्दा कम बजेट विनियोजन नगरिएको मन्त्री अर्यालले बताउनुभयो । विगतका वर्षमा रु दुई लाखसम्मका योजनासमेत कार्यान्वयन गरिएको भन्दै उहाँले यस वर्ष त्यस्ता टुक्रे योजनालाई निरुत्साहित गरिएको जानकारी दिनुभयो ।

मन्त्रालयले दुई सय ४० लिफ्टिङ आयोजनाका लागि रु दुई करोड अनुदान दिएको जनाएको छ । त्यसैगरी गत वर्ष १७ हजार तीन सय ४८ घरधुरीमा निजी धारा जडान गरिएको र ९० हजार दुई सय जनसङ्ख्या लाभान्वित भएका छन् ।

ऊर्जा मन्त्रालयले गत वर्ष ८५ दशमलव ४४ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयका सचिव इन्जिनियर डा सन्तोष कैनीले बताउनुभयो । उहाँका अनुसार गण्डकीका अन्य मन्त्रालयमध्ये धेरै वित्तीय प्रगति हासिल भएको छ । रासस