२०८१ आश्विन ६ , आइतवार

अर्थतन्त्र सुधारका लागि उद्यमशीलतामा जोड दिनुपर्छ : मुख्यमन्त्री चौधरी

limbini province dilli bahadur chaudhary

सुनाखरी न्युज/ काठमाण्डौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुलुकको अर्थतन्त्र सुधारका लागि युवा उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभएको छ । नेपाल जेसीजले तिलोत्तमामा आयोजना गरेको जेसीज क्षेत्र ‘घ’ सम्मेलन उद्घाटन गर्दै आज मुख्यमन्त्री चौधरीले पलायन भइरहेका युवा जनशक्तिलाई रोक्न मुलुकभित्रै रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो ।

उहाँले लुम्बिनी प्रदेशमा दुई लाख युवालाई रोजगारी सिर्जनाका लागि कार्यक्रम ल्याएको र उक्त कार्यक्रमका लागि सहयोग गर्न जेसीजसमक्ष आग्रह गर्नुभयो । मुलुकको भविष्य युवाको काँधमा रहेको बताउँदै उहाँले युवालाई जिम्मेवार भएर प्रस्तुत हुन पनि आग्रह गर्नुभयो ।जेसिजमा उद्यमशील युवा आबद्ध रहेको भन्दै उहाँले रोजगारी सिर्जनामा सरकारले जेसिजसँग सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

नेपाल जेसीजका अध्यक्ष विकास मानन्धरले जेसिजमा १८ देखि ४० वर्ष उमेर समूहका युवाको सङ्ख्या बढी रहेको जानकारी गराउँदै युवाको नेतृत्व विकासमा काम गर्दै आएको भनाइ राख्नुभयो ।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले देशको नेतृत्व युवाले गर्नुपर्ने बेला आएको बताउँदै त्यसका लागि तयार हुन आग्रह गर्नुभयो । उहाँले व्यापार घाटाका कारण देशको अर्थतन्त्र खस्ँकदो अवस्थामा रहेको भन्दै त्यसलाई सही बाटोमा ल्याउनका लागि आयात प्रतिस्थापन गर्दै निर्यात बढाउनु आवश्यक रहेको बताउनुभयो ।

तिलोत्तमा जेसिजको आतिथ्यतामा दुई दिनसम्म चल्ने जेसिज क्षेत्र घ सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत तथा प्यानल छलफल हुने तिलोत्तमा जेसिजका अध्यक्ष प्रकाश गौतमले बताउनुभयो । सम्मेलनमा क्षेत्र ‘घ’ अन्तर्गतका गैँडाकोटदेखि पश्चिम महेन्द्रनगरसम्मका ५८ शाखाबाट करिब पाँच सय सहभागी रहेको तिलोत्तमा जेसिजका महासचिव महेश पौडेलले जानकारी गराउनुभयो ।
रासस