२०८१ आश्विन ६ , आइतवार

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

PM Dahal

सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखराका मानवअधिकारवादी तथा वामपन्थी नेता टेकनाथ बरालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत पोखरेलीका अभिभावक बरालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरुमा समवेदना व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री दाहालले भन्नुभएको छ, “सामाजिक–सांस्कृतिक आन्दोलनको अग्रज व्यक्तित्व, पोखराको वाम–प्रजातान्त्रिक आन्दोलनका अगुवा टेकनाथ बरालको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दछु । पोखरेलीका अभिभावक बरालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु ।”

राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण मञ्चको संस्थापक बराल लामो समय नेपालको मानवअधिकार तथा लोकतान्त्रिक आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । बरालको मङ्गलबार दिउँसो पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ८४ वर्षको उमेरमा निधन भएको थियो । मंगलबार साँझ नै बरालको सेतीनदी तुलसीघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा राजनीतिक दलका नेता, अधिकारकर्मीलगायत सयौँको उपस्थिति थियो ।
रासस