२०८१ मंसिर ९ , आइतवार

रैथाने आलु बाली जोगाउन अनुदान

aluu 2

सुनाखरी न्युज/ काठमाडौं ।
रैथाने आलु बाली प्रवर्द्धन गर्नका लागि कृषि ज्ञान केन्द्र कञ्चनपुरले अनुदानका कार्यक्रम सञ्चालन गरेको छ । बेदकोट र शुक्लाफाँटा नगरपालिका तथा लालझाडी गाउँपालीकामा रैथाने आलु बाली प्रवर्द्धनका लागि अनुदान कार्यक्रम सञ्चालन हुन लागेको हो ।

केन्द्रले रैथाने आलु बालीको खेती गर्ने किसानलाई अनुदान उपलव्ध गराउनका लागि रू १० लाख बजेट विनियोजन गरेको जनाएको छ । बीउ, मलखाद, सिँचाइ र प्रविधिमा किसानलाई अनुदान उपलव्ध गराइने केन्द्रका निमित्त कार्यालय प्रमुख हरिदत्त जोशीले बताउनुभयो । उहाँका अनुसार किसान, किसान समूह, सहकारीमार्फत कार्यक्रम सञ्चालन गरिने भएको छ ।

“छनोट भएका किसान, किसान समूह र सहकारीलाई सुदूरपश्चिम प्रदेशअन्तर्गत कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्द्धन नियमावली अनुसार कार्यक्रम सञ्चालन गरिनेछ” जोशीले भन्नुभयो, “अनुदान परिचालन गरी तीनवटै पालिकामा पेस गरिएका प्रस्तावका आधारमा कार्यक्रम सञ्चालन हुनेछ । कार्यक्रमअन्तर्गत २५ हेक्टर क्षेत्रफलमा रैथाने आलु बालीको व्यावसायिक खेती गर्ने लक्ष्य लिइएको छ ।”

खानमा स्वादिलो र थोरै मेहतमै धेरै फल्ने रैथाने आलु लोपोन्मुख अवस्थमा पुगेपछि प्रवद्र्धनका लागि कार्यक्रम अगाडि बढाइएको जोशीको भनाइ थियो । “रैथाने आलुलाई स्थानीय थारु समुदायले घरैया आलु भन्ने गर्दछन् । घरैया आलुको माग बजारमा बढ्दो छ”, उहाँले भन्नुभयो ।

जोशीका अनुसार उन्नत जातका टिपिएस, कार्डिनललगायतका आलुको खेतीप्रति किसानको आकर्षण बढदै गएपछि रैथाने जातका आलु ओझेलमा पर्दै गएका छन् । थारु समुदायले पूर्खौंदेखि रैथाने आलुको खेती गर्दै आएका उहाँले बताउनुभयो ।

“थोरै क्षेत्रफलमा घरैया आलु रोपिने भएकाले माग अनुरुप उत्पादन गर्न नसकिएको छैन्”, किसान कालुराम चौधरीले भन्नुभयो, “बजारमा बेच्न लैजादा हातोहात बिक्री हुन्छ । ग्राहकले माग गरे अनुरुप पुर्‍याउनै सकिदैन ।” परम्परागत रुपमा जैविक विधिको प्रयोग गरी लगाइने भएकाले स्वास्थ्यका लागि फाइदाजनक, स्वादिलो, भण्डारण गर्दा लामो समयसम्म नकुहीने र डुढुवालगायतको रोग सहन सक्ने क्षमता भएकाले यसको माग बढेको उहाँले बताउनुभयो ।

कृषि ज्ञान केन्द्रले अनुदानका कार्यक्रम सञ्चालन गरेपछि रैथाने आलु खेती गर्दै आएका किसानको मनोवल वृद्धि भएको शुक्लाफाँटा कृषि शाखाका प्रमुख करन सिंह बुढाऐरले बताउनुभयो । “खेती गर्दै आएका किसानलाई हौसला बढेको छ”, उहाँले भन्नुभयो, “यस खेती प्रति अन्य किसानको आकर्षण पनि बढछ भन्ने लागेको छ ।”

विकासे आलुको तुलनामा स्थानिय जातको आलुको दाना सानो अर्थात पाँच ग्रामदेखि १० ग्रामको मात्रै हुने बुढाऐरले जमनकारी दिनुभयो । उहाँका अनुसार हाल आलु लगाउने आधुनिक प्रविधिको प्रयोग हुन थालेपछि विगतको तुलनामा दाना ठूलो उत्पादन हुन थालेका छन् ।

स्थाानीय किसानका अनुसार एक कठ्ठा जग्गामा घरैया (रैथाने) आलु २० किलो बीउको एक क्विन्टल बढी उत्पादन हुने गरेको छ ।
रासस