२०८१ आश्विन ६ , आइतवार

कांग्रेसमा ६५ मध्ये ६४ विभाग रिक्त !

Nepali Congress

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसमा ६५ भन्दा बढी विभाग भए पनि सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति मातहत रहेका ६५ भन्दा धेरै विभाग गठन गरेका छैनन् । सामान्यतः पार्टीको उद्देश्य प्राप्ति र त्यसका लागि सभापतिलाई सहयोग पुर्‍याउने हिसाबले राजनीतिक दलहरूभित्र विभाग गठनको अभ्यास छ ।

कांग्रेस विधानले महाधिवेशन भएको ६ महिनाभित्र यस्ता विभागहरू गठन गर्ने र जिम्मेवारी तोक्ने अधिकार सभापतिलाई दिएको छ । तर सभापति देउवाले विगतदेखि नै पार्टीका विभागहरूको गठन र जिम्मेवारी प्रदान गर्नेमा अरुचि देखाउँदै आएका छन् । यसपटक केन्द्रीय कार्यसमिति बैठकले निर्णय गरेरै विभाग गठनको डेडलाइन तोकिदिए पनि देउवाले वास्ता गरेनन् ।

 

कांग्रेसको १४ औँ महाधिवेशन भएकै साढे २० महिना बितिसकेको छ । यदि सभापतिको अधिकार प्रयोग गरेर देउवाले केन्द्रीय कार्यसमितिका नेताहरूलाई विभागमा जिम्मेवारी प्रदान गरेको भए विभागले एक वर्षदेखि काम गरिरहेका हुन्थे । तर देउवाले विधानबमोजिम विभाग गठनमा बेवास्ता देखाएपछि साउन पहिलो साता बसेको केन्द्रीय कार्यसमिति बैठकले एक महिनाभित्र विभाग गठन गर्न सभापतिलाई झक्झकाएको थियो । तर बैठकले दिएको समयसीमामा पनि सभापति देउवाले विभागलाई पूर्णता दिएका छैनन् ।

नेताहरूका अनुसार तत्कालै विभाग गठनको तयारीसमेत छैन । सहमहामन्त्री महालक्ष्मी उपाध्यायले तत्कालै विभाग गठनको तयारी नरहेको बताइन् । ‘केन्द्रीय समितिले भदौ १५ भित्र गठन गर्ने भनेको हो । तर त्यसपछि फेरि छलफल भएको छैन,’ उनले भनिन्, ‘तत्काल गठन भइहाल्ने मैले बुझेको छैन ।’

हाल कांग्रेसको केन्द्रीय कार्यसमिति १५७ सदस्यीय छ भने १३ पदाधिकारी छन् । तर केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीका सहमहामन्त्रीहरूले नै भूमिका नपाएको भन्दै विभाग गठन गरेर जिम्मेवारी बाँडफाँड हुनुपर्ने विषय उठेको थियो । केन्द्रीय सदस्यहरूले त पार्टीमा भूमिका नपाएको भन्दै गुनासो नै गरेका थिए । ‘पार्टीका विभाग किन गठन हुँदैनन् रु भ्रातृ संस्था किन गठन हुन सकिरहेका छैनन् रु हाम्रो बैठकसमेत समयमा बस्ने सकिरहेको छैन, यस्तो के कारणले भइरहेको छ ?,’ बैठकमा केन्द्रीय सदस्य हरिशरण नेपालीले प्रश्न गर्दै भनेका थिए, ‘म केन्द्रीय कार्यसमितिको सदस्य त हुँ । तर मैले १० महिनादेखि काम पाएको छैन ।’

 

विधानअनुसार कांग्रेसका ४८ विभाग छन् । तर यसपटक बसेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले विधानले व्यवस्था गरेकोमा २० वटा विभाग थप गर्नुपर्ने प्रस्ताव गरेका थिए । बैठकले महामन्त्रीले प्रस्ताव गरेकामध्ये कार्यक्षेत्र बाझिने र डुप्लिकेसन हुने केही विभागको नाम कटाएर विभाग थप गर्ने निर्णय गरेको थियो ।

तीमध्ये अहिलेसम्म एउटा विभागमात्रै गठन भएको छ– सूचना, सञ्चार तथा प्रचार विभाग । सभापति देउवाले पार्टीको प्रवक्ता रहेका प्रकाशशरण महत अर्थमन्त्री भएपछि पार्टीबारे बोल्ने व्यक्ति नभएको भन्दै केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मालाई सो विभागको प्रमुख तोकेका थिए । त्यसयता विश्वकर्माले नै प्रवक्ताले गर्ने काम गर्दै आएका छन् । विधानमा केन्द्रीय सभापतिले हरेक विभागको प्रमुख, उपप्रमुख र एक जना सचिवसहित सदस्यहरू मनोनीत गर्ने व्यवस्था छ । विभागहरू बढीमा ५१ सदस्यीयसम्म हुने विधानको व्यवस्था छ ।

प्रचार विभाग प्रमुख विश्वकर्माले केन्द्रीय समितिमा प्रस्ताव आएबमोजिम कांग्रेसमा अब विभागको संख्या ६५ भन्दा बढी पुगेको बताए । ‘पहिले विधानमा ४८ विभाग हुन् । त्यसमा अहिले २० वटा थप्न आएको प्रस्ताव बैठकले स्वीकृत गरेको थियो,’ उनले भने, ‘तर तीमध्ये केही डुप्लिकेसन भएका छन् । यसरी हेर्दा विभागको संख्या ६५ को हाराहारी हुन्छ ।’

यसरी हेर्दा सभापति देउवाले ६५ विभागमा केन्द्रीय पदाधिकारी, सदस्यहरूसहित तीन हजारभन्दा धेरै नेता कार्यकर्तालाई जिम्मेवारी दिन सक्छन् । जसले पार्टी संगठनलाई मजबुद पार्न भूमिका खेल्न सक्छन् ।

तर पार्टीभित्र सबै पक्ष र नेताहरूको चाहनालाई समेटेर विभाग गठन गर्नुपर्ने भएकाले केही दिन ढिला भएको प्रचार विभाग प्रमुख विश्वकर्मा बताउँछन् । ‘अब विभाग गठन गर्ने भन्ने मनस्थिति बनेको छ । तर ठ्याक्कै कहिले भनेर निश्चित छैन,’ उनले भने, ‘सभापतिज्यूले त्यसबारे पदाधिकारी र शीर्ष नेताहरूसँग छलफल गर्न खोजिरहनुभएको छ, नेताहरू बाहिर भएकाले समय मिलेको छैन । पहिले छलफलपछि अनि विभाग गठनको प्रक्रिया अघि बढ्छ ।’

त्यसो त सभापति देउवाले पार्टीको सभापतिकारूपमा पहिलो कार्यकालमा समेत विभाग गठनमा ढिला गरेका थिए । त्यसबेला विभाग गठनका विषयमा नेताहरूबीच भागबन्डा नमिल्दा पटक–पटक गरी विभाग गठन भएको थियो भने विभाग गठन भइसक्दा अर्को महाधिवेशनको मिति नै तय भएको थियो, विभागले काम गर्नै पाएनन् ।

केन्द्रीय सदस्य नैनसिंह महर नेतृत्वले पार्टी संगठनलाई चुस्तदुरुस्त राख्न नसकेको बताउँछन् ।

‘सभापतिले गठन गर्ने हो । तर यसमा दोष सभापतिको मात्रै होइन, सिंगो नेतृत्वको हो,’ उनी भन्छन्, ‘केन्द्रीय समिति बैठकले विभागको संख्या थप्यो । तर ती विभाग कसरी गठन गर्ने रु के काम गर्ने रु कुनै मापदण्ड छैन, कार्यविधि बनेको छैन । त्यसरी निश्चित टीओआर र कार्यक्षेत्र नतोकेर हुने विभाग गठनले पार्टीलाई पनि खासै लाभ हुन्छ भन्ने लाग्दैन ।’

कांग्रेसमा हाल भ्रातृ संस्था गठनले नेताहरूबीच विवाद चर्किएको छ ।

सभापति देउवाले लामो समयदेखि महाधिवेशन नभएर विघठन भइसकेका नेविसंघ, तरुण दल र महिला संघमा तदर्थ समिति गठन गरेका छन् । जसमा ७११ सदस्यीय नेपाल विद्यार्थी संघ, ४०१ सदस्यीय नेपाल तरुण दल र ५३ सदस्यीय नेपाल महिला संघ छन् । तर तीनवटै भ्रातृ संस्थामा असन्तुष्टि चर्किएको छ ।

विवादका कारण जिम्मेवारी पाएकाले अहिलेसम्म शपथग्रहणसमेत गरेका छैनन् भने ती समितिमा फेरि सदस्य थप गर्नेबारे समेत नेताहरूबीच छलफल चलिरहेको छ । नेपाल महिला संघमा भने अध्यक्ष उषा राउत मिश्रले विधानविपरीत गतिविधि गरेको भन्दै नेता शेखर कोइराला पक्षका २० केन्द्रीय सदस्यले समानान्तर गतिविधि गर्ने भन्दै धम्क्याउदै आएका छन् । त्यस्तै, १५ भदौभित्र गठन गरिसक्ने भनेर डेडलाइन तोकिएको नेपाल दलित संघमा भने तदर्थ समितिसमेत गठन भएको छैन ।
कानितपुरवाट