२०८१ आश्विन ७ , सोमवार

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले निःशुल्क भनेर जव हजारको टिकट थमायो…

Screenshot 2023-09-01 184037

सुनाखरी न्युज/ काठमाडौं ।

वरिष्ठ लोक गायक, सङ्गीतकार, चलचित्र निर्देशक एवं स्रष्टा नारायण रायमाझीको एकल साँझ शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गुञ्जिरह्यो ।तर, आयोजकले झुटको खेती गर्दा स्रष्टा रायमाझीलाई प्रत्यक्ष हेर्न आएका कयौँ दर्शक रुष्ट बने ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा आयोजित सांगीतिक साँझ कार्यक्रम कमलादीमा भद्रगोल देखिन्छ । टाढा–टाढा बाट स्रष्टा रायमाझीलाई हेर्न आएका दर्शक–स्रोता पनि आयोजकबाट दिक्क छन् र गाली गरिरहेका छन् ।

कार्यक्रमको प्रचारमा आयोजकले सबै दर्शकलाई निःशुल्क भनेर विज्ञापन गरेर अन्तिममा १ हजारको टिकट भिडाउन खोजेको आगन्तुकहरूको गुनासो छ । कार्यक्रम हल प्रवेशद्वारमा आयोजकका प्रतिनिधिहरू टिकट बाँड्न र बेच्न व्यस्त छन् । अर्कातर्फ निःशुल्क कार्यक्रम हेर्न पाइन्छ भन्ने आशामा आएका बच्चादेखि वृद्धसम्मको भिड भने गुनासो गरिरहेको छ ।

‘नेपाल टेलिकम नारायण रायमाझी साङ्गीतिक साँझ’मा रायमाझीका सबै शैलीका सदावहार लोकप्रिय गीत सङ्गीतको प्रस्तुति हुने सुनेपछि दौडदै प्रज्ञासम्म आइपुगेका कतिपय दर्शक त लोकदोहोरी प्रतिष्ठानका आजीवन सदस्यसमेत छन्, जो आफैँ हलमा प्रवेश गर्न नपाएर दिक्क छन् । उनीहरूको गुनासो छ, ‘प्रज्ञा प्रतिष्ठानसम्म आएर पनि स्क्रिनमै हेर्नु पर्छ भने हामी घरमै टिभी हेरेर बस्ने थियौँ, आयोजक फटाहा निस्कियो र हामीले दुःख पायौँ ।’

 

आयोजकले निःशुल्क भनेर प्रचार गरे पनि पछि प्रज्ञाको डबलीमा डिजिटल स्क्रिन राखेर दर्शकको चित्त बुझाउने प्रयास गरेको छ । नारायण रायमाझीलाई प्रत्यक्ष हेर्ने रहर बोकेर आएका दर्शकको रहरमाथि आयोजकले घात गरेको छ ।

 

अर्कातर्फ कार्यक्रम सुरु भएपछि पनि आयोजकले सांगीतिक कार्यक्रम सबैलाई निःशुल्क नै रहेको दाबी गरिरह्यो । कार्यक्रम सुरु हुनै लाग्दा प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्माले भने, ‘यो सांगीतिक कार्यक्रम अन्यभन्दा भिन्न हो र सबै दर्शकका लागि यो निःशुल्क हो ।’

यता वर्तमान अध्यक्ष रिता थापामगर भने कुराकानीका लागि रातोपाटीको आग्रहलाई टारिरहिन् । निःशुल्क भन्दै शुल्क उठाउने प्रतिष्ठानको बेइमानी किन भनेर प्रश्न गर्न खोज्दा उनी कार्यक्रमको व्यस्तता देखाउँदै बोल्न मानिनन् ।