सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को साधारणसभा तथा निर्वाचनले दीपक श्रेष्ठलाई निरन्तरता दिँदै २ वर्षका लागि १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ । करातेका पूर्व खेलाडी तथा प्रशिक्षक श्रेष्ठ दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता हुन् ।
उपाध्यक्षमा आयशा शाक्य ९तेक्वान्दो० र दीपक थापा (ब्याडमिन्टन), महासचिवमा शिवसुन्दर गोथे (टेबलटेनिस), सचिवमा मन्देकाजी श्रेष्ठ (कराते) र कोषाध्यक्षमा आङबाबु लामा (उसु) छन् । पदाधिकारीमा दीपक थापाबाहेक अघिल्लो कार्यसमितिका सबै उही जिम्मेवारीमा थिए । थापा भने सदस्यमा थिए ।
सदस्यमा बास्केटबलका सदीश प्रधान, फुटबलका विकेश कुथु, उसुकी जुनी राई, बक्सिङका अजित गुरुङ, फेन्सिङका सन्जिव लामा, टेबलटेनिसका पुरुषोत्तम वज्राचार्य, सुटिङकी फुलमाया क्याप्छाकी, भलिबलका मानबहादुर श्रेष्ठ र जुडोका सन्जित डंगोल चयन भए ।
नवनिर्वाचित पदाधिकारीलाई नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्वधावक जितबहादुर केसीले खादा लगाएर शुभकामना दिए । त्यसअघि साधारण सभाको नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठले उद्घाटन गरेका थिए । १ उपाध्यक्ष र ३ सदस्यको मनोनयनपछि केन्द्रीय कार्यसमितिले पूर्णता पाउने जनाइएको छ ।