सुनाखरी न्युज/ काठमाडौं ।
चीनका प्रधानमन्त्रीले विकासोन्मुख देशका ऋण समस्या समाधान गर्न आह्वान गर्नुभएको छ । साथै उहाँले सुरक्षाको अवधारणालाई बढावा दिने तथा आर्थिक मुद्दालाई राजनीतिकरण गर्ने अभ्यासको संयुक्त रूपमा प्रतिरोध गर्नुपर्ने बताउनुभएको छ ।
इन्डोनेशियाको राजधानी जकार्तामा भएको दक्षिणपूर्वी एशियाली देशहरूको सङ्गठन (आसियान) को ४३ औँ शिखर सम्मेलनका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेससँग भएको भएको भेटवार्तामा चिनियाँ प्रधानमन्त्री ली छ्याङलेसंयुक्त भार बाँडफाँडको सिद्धान्तका आधारमा विकासोन्मुख देशहरूको ऋण समस्यालाई सक्रियताका साथ सम्बोधन गर्न अन्तरराष्ट्रिय समुदायलाई आग्रह गर्नुभयो ।
चिनियाँ प्रधानमन्त्री लीले विश्वव्यापी आर्थिक शासन प्रणालीको सुधार र अन्तरराष्ट्रिय वित्तीय संस्थाहरूमा विकासोन्मुख देशहरूको प्रतिनिधित्व र आवाजलाई प्रभावकारी रूपमा बढाउनु आवश्यक भएको बताउनुभयो ।
यसैबीच, इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले ४३औँ आसियान शिखर सम्मेलनले दक्षिणपूर्वी एसियाली देश र तिनका साझेदारमाझ सकारात्मक ऊर्जा प्रवाह गरेको बताउनुभएको छ । जकार्ता सम्मेलन केन्द्रमा ४३औँ आसियान शिखर सम्मेलनको समापन मन्तव्य व्यक्त गर्दै उहाँले सम्मेलनमा उपस्थित सबै देशका नेता र अतिथिको प्रशंसा गर्नुभयो ।
“पछिल्ला तीन दिनमा हामीले १२ वटा शिखर सम्मेलन, ९० वटा दस्तावेज, आसियान साझेदारहरूसँग ठोस सम्झौता मात्र गरेनौँ सम्मेलनका क्रममा मैले उपस्थित सबैबाट सकारात्मक ऊर्जा प्रवाह भएको महसुस गरें । म विश्वासका साथ भन्न सक्छु कि आसियानलाई शान्तिपूर्ण, स्थिर र समृद्ध क्षेत्र बनाउने भावनालाई सुदृढ बनाउँछ,” राष्ट्रपति विडोडोले भन्नुभयो ।
राष्ट्रपति विडोडोले लाओ जनवादी लोकतान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोने सिफान्डानेलाई आसियानको अध्यक्षताको प्रतीक हथौडी हस्तान्तरण गर्नुभयो । आसियको अध्यक्षता लाओसमा सरेसँगै आगामी वर्ष उक्त देशमा सङ्गठनको ४४ औँ शिखर सम्मेलन आयोजनाको दायित्व सोही देशको हुनेछ ।
रासस