२०८१ आश्विन ७ , सोमवार

उपराष्ट्रपति यादव : शोक सन्देश

Ram Sahaya Yadav VP

सुनाखरी न्युज/ काठमाडौं ।
उपराष्ट्रपति रामसहाय प्रसाद यावदले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र असामयिक निधनको खबरले आफूलाई मर्माहित र स्तब्ध तुल्याएको भन्दै नेपालको संविधान निर्माणका क्रममा उहाँले पु¥याउनुभएको योगदान सदैव स्मरणीय रहने बताउनुभएको छ ।

उपराष्ट्रपति यादवले आज एक शोक सन्देश जारी गर्दै संसद् र संविधानसभाको दोहोरो भूमिका भएको सभालाई कुशलतापूर्वक नेतृत्व गर्नुभएका नेता नेम्वाङलाई सहमति, सहकार्य र एकताको विकल्प नभएको भनी राजनीतिक दलहरूलाई घच्घचाइरहने व्यक्तित्वका रुपमा स्मरण गर्ने बताउनुभएको छ ।

सन्तुलित भूमिका, सहमतिको पक्षधर र कानुन तथा संविधानको जानकार भएको नेताका रुपमा उहाँले आफूलाई स्थापित गर्नुभएको भन्दै शोक सन्देशमा इलाम–२ बाट प्रतिनिधिसभाका सदस्यसमेत रहनुभएका नेकपा (एमाले) उपाध्यक्ष नेम्वाङको निधनबाट मुलुकले एकजना भद्र, शालीन, मृदुभाषी र मिलनसार नेता गुमाएको उल्लेख छ ।

उपराष्ट्रपति यादवले एमाले संसदीय दलका उपनेता नेम्वाङको निधनप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै मृतात्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । रासस