२०८१ मंसिर ११ , मंगलबार

टोखा–छहरे सुरुङमार्ग बनाउन चिनियाँ सरकार सकारात्मक : अर्थमन्त्री डा महत

Prakash S Mahat

सुनाखरी न्युज/ काठमाडौं ।अर्थमन्त्री डा प्रकाशशरण महतले टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि चिनियाँ सरकार सकारात्मक रहेको बताउनुभएको छ ।

लिखु महिला उद्यमी तथा सामाजिक संस्थाले आज आयोजना गरेको तीज शुभकामना कार्यक्रममा उहाँले परियोजना निर्माणका लागि सरकारले चालु आर्थिक वर्षका लागि रू एक अर्ब छुट्याएको र थप रकम लगानीका लागि चीन सरकारसमक्ष प्रस्ताव पठाइएकामा सकारात्मक जवाफ आएको बताउनुभएको हो ।

“यो आयोजनामा चिनियाँ लगानी ल्याउन दुई पक्षबीच पत्रको आदानप्रदान भइसकेको छ । यसको अर्थ आयोजना अगाडि बढ्छ भन्ने हो”, उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा यो आयोजना पहिलो प्राथमिकतामा राखेका आसयको पत्र चीन सरकारले दिएको छ ।”

यो आयोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययन भइसकेको जानकारी दिँदै अर्थमन्त्री डा महतले अब विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अध्ययनपछि निर्माण प्रक्रिया अगाडि बढ्ने बताउनुभयो । “सुरुङमार्गको अध्ययन महत्वपूर्ण पक्ष हो, धेरै पक्षमा ध्यान पु¥याउनुपर्ने भएकाले अध्ययन सबैभन्दा जटिल र महत्वपूर्ण छ, अध्ययन सकिने वित्तिकै सुरुङमार्गको काम अगाडि बढ्छ”, उहाँले भन्नुभयो ।

टोखा–छहरे सुरुङमार्ग निर्माणको काम भौतिक मन्त्रालयले, स्रोत जुटाउने काम अर्थ मन्त्रालय र वातावरणसम्बन्धी काम वन मन्त्रालयको हुने भएकाले सबै निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो । त्यस्तै नुवाकोटको सडक सञ्जाल सदरमुकाम विदुरसम्म मात्र नभइ रसुवा नाकासम्म स्तरोन्नति हुने पनि अर्थमन्त्री डा महतले बताउनुभयो ।

पृथ्वी राजमार्गको ट्राफिक व्यवस्थापन र अन्तर्राष्ट्रिय व्यापारका लागि यो बाटो सबैभन्दा छोटो हुने उहाँको भनाइ छ । त्यस्तै ढिकुरे र सिम्ला सिँचाइ आयोजना पनि सरकारको प्राथमिकतामा रहेको उहाँको भनाइ छ । रासस