२०८१ आश्विन ७ , सोमवार

संविधानले विकास र समृद्धिको खाका कोरेको छ : प्रदेश प्रमुखहरु

limbini province dilli bahadur chaudhary
सुनाखरी न्युज/ काठमाडौं ।
विभिन्न प्रदेशका प्रदेश प्रमुखहरुले संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै संविधानले विकास र समृद्धि खाका कारेको बताउनुभएको छ । संविधानको सही कार्यान्वयनबाट नै मुलुकको विकास हुने उहाँहरुको भनाइ छ ।
संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानले परिकल्पना गरेको विकास र समृद्धिको शिखरमा पुग्ने अभियानमा निरन्तर अघि बढ्न संविधान दिवसले सबैलाई प्रेरित गरोस भनी कामना गर्नुभयो । उहाँले संविधानले केन्द्रिकृत र एकात्मक राज्यव्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडन अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत राष्ट्रिय एकताको सुत्रमा बाँध्ने काम गरेको उहाँको भनाइ छ ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुुरुङले वर्तमान संविधानले देशमा शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि मार्ग प्रशस्त गरेको बताउनुुभएको छ । उहाँले संविधानबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनाका साथै नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिगमताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानूनी राज्यजस्ता लोकतन्त्रका आधारभूत मूल्य र मान्यता स्थापित भएको बताउनुुभयो ।
त्यसैगरी लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधान जारी भएपछि आम जनताले समृद्धिको यात्रामा अघि बढन थुप्रै आशा र अपेक्षा राखेको बताउनुभएको छ ।  उहाँले आम जनताका सबै अपेक्षालाई संवैधानिक र कानूनीरुपमा सम्बोधन गर्ने प्रक्रिया थालनी गर्नु राज्यको मुख्य दायित्व रहेको बताउनुभयो ।
कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले संविधान रक्षाका लागि  व्यवहारिक प्रयोगको विकल्प नभएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “नेपाल विभिन्न जातजाति भाषाभाषी, विविध साँस्कृति र धार्मिक आस्था राख्ने जनताको सङ्गम स्थल हो । यी सबैको भावनाको प्रतिनिधित्व नेपालको संविधानले गरेको छ ।”
सामाजिक न्यायमा आधारित समतामूलक समाजको निर्माण तथा आत्मनिर्भर अर्थतन्त्र विकास गर्नुपर्ने राष्ट्रिय सङ्कल्प आवश्यक भएकोमा जोड दिंदै प्रदेश प्रमुख परियारले समाजवादोन्मुख अर्थतन्त्रको विकासका लागि सबै सरोकारवालाहरुलाई एकतावद्ध भएर अगाडि बढ्न आग्रह गर्नुभयो ।
 रासस