२०८१ मंसिर ९ , आइतवार

छरुवा प्रविधिले धानको उत्पादन बढ्दो

dhan

सुनाखरी न्युज/ काठमाडौं । बेदकोट नगरपालिका–८ का रणबहादुर मल्ल सेवानिवृत्त कृषि अधिकृत हुनुहुन्छ । उहाँ भाडामा जग्गा लिएर उन्नत प्रविधिको प्रयोग गरी कम मेहनतमै बढी धान उत्पादनमा लाग्नुभएको छ ।

धानको उत्पादन बढाउनका लागि उहाँले छरुवा धान खेती प्रणाली (डिआरएस) अपनाउनु भएको छ । रोपेको धानभन्दा उहाँले खेतमा छरेको धान फस्टाउँदो छ । चिस्यानयुक्त खेतमा मेसिनको सहायताले सिधै उहाँले उन्नत जातको युएस तीन सय पाँच जातको धान छर्नुभएको हो ।

“यस प्रविधिमा धान रोप्नका लागि खेत हिल्याउनु पर्दैन”, उहाँले भन्नुभयो, “न त रोपाहाको खोजी गरी खेतमा धान रोप्नु नै पर्छ, सिधै खेतमा सिड ड्रिल मेसिनको प्रयोग गरी धानको बीउ र मल राख्ने गरिन्छ ।” उहाँका अनुसार परम्परागत विधिको तुलनामा प्रविधिको प्रयोग गरी लगाइएको धान खेतीको लागत खर्च तीन गुणाले कम हुने गर्दछ ।

एक बिघा जग्गामा परम्परागत विधिमा लगाइएको धानभन्दा यस प्रविधिमा लगाइएको धानको लागत खर्च रु १५ हजार देखि रु २० हजार कम लाग्ने गरेको उहाँ बताउनुहुन्छ । “छरुवा विधिबाट लगाइएको धानको बालामा तीन सय ८० देखि चार सय दाना लागेका छन”, मल्लले भन्नुभयो, “परम्परागत विधि रोपाइँ गरी लगाएको धानमा अधिकमा एक ६० दाना मात्रै रहेका छन्, प्रविधिको प्रयोग गरी गरिएको धान खेतीको उत्पादन दोब्बरले बढी भएको छ ।”

चार बिघा जग्गामा उहाँले छरुवा विधिबाट धान खेती गर्नुभएको छ । धानको उत्पादन बढ्दो रुपमा रहेकाले अर्को वर्ष बढी जग्गा भाडामा लिएर धान खेती गर्ने उहाँको सोच छ । उहाँकै प्रेरणाले बेदकोट–३ का किसान दीपेन्द्र रावलले पनि छरुवा विधिको प्रयोग गरी एक हेक्टर क्षेत्रफलमा धान खेती गर्नुभएको छ । मेसिनको प्रयोग गरी धान खेतमा छर्न थालेपछि छिमेकीले जग्गा बाँझो राख्ने भो भनेर मुखामुख गरेको उहाँ स्मरण गर्नुहुन्छ ।

“धानका बोटले गाभा फोडेर जब बाला लाग्न सुरु भए मुखामुख गर्नेहरु यसै प्रविधिको प्रयोग गरी अर्को वर्षदेखि धान खेती गर्छौं भन्न थालेका छन्”, उहाँले भन्नुभयो, “अर्को वर्षदेखि छिमेकका २५ किसानले यस प्रविधिमा धान खेती गर्ने भएका छन् ।” डेढ बिघा जग्गामा रोपाइँ गरेर धान खेती गर्दा मुस्किलले २० देखि २२ बोरी मात्रै धान उत्पादन हुने गरेको उहाँ बताउनुहुन्छ ।

आधुनिक तरिकाले थोरै श्रममा धान खेती गर्दा यस वर्ष धानको उत्पादन बढेर दोब्बर बढी हुनेमा उहाँ विश्वस्त हुनुहुन्छ । “खेतमा झुलेका धानका बाला हेर्न दैनिक खेतमा पुग्ने गरेको छु”, उहाँले भन्नुभयो, “यसरी धान खेतमा झुलेको पहिलो पटक नै हो, लोभलाग्दो छ, नगरपालिकका कृषि प्राविधिक पनि हप्तामा एक पटक धान नियाल्नका लागि पुग्ने गरेका छन् ।”

पहिलो वर्ष भएकाले झारपात व्यवस्थापन भनेजस्तो गर्न नसकिएको जनाउँदै उहाँले अर्को वर्षदेखि व्यवस्थित तरिकाले खेती गरी बढी उत्पादन लिने बताउनुभयो । यस प्रविधिबाट धान खेती गर्दा प्रतिहेक्टर पाँच मेट्रिक टन धान उत्पादन हुने सेवनिवृत्त कृषि अधिकृत मल्लको भनाइ छ ।

थोरै सिँचाइ गरे पुग्ने, कम बीउ लाग्ने, न्यून श्रमशक्तिको प्रयोग हुने भएकाले यस प्रविधिमा धान खेती गर्दा लागत खर्च घटने उहाँ बताउनुहुन्छ । “जलवायु परिवर्तका कारण केही वर्षयतादेखि मनसुनी वर्षा ढिलो गरी हुन थालेको छ”, उहाँले भन्नुभयो, “यसले धानबाली प्रणालीमा नकारात्मक असर गरेको छ, यस्तो अवस्थामा छरुवा धान खेती प्रविधियुक्त छ ।”

मल्लले आफूले मात्रै यस्तो प्रविधिमा धान खेती नगरेर अरू किसानलाई पनि प्रविधिबारे जानकारी गराई उन्नत धान खेती गर्नतर्फ किसानलाई उत्प्रेरित गर्दै आउनुभएको छ । बर्सातका बेला डिआरएस प्रविधिमा धान खेती र हिउँदमा उहाँले रैथाने जातको आलु खेती गरी आम्दानी लिँदै आउनुभएको छ । वर्षमा दुवै खेतीबाट रु १५ देखि रु २० लाख जति आम्दानी हुने गरेको उहाँँ बताउनुहुन्छ । उन्नत प्रविधिमा खेती गर्नका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले मलखाद र बीउमा सहयोग पु¥याएको छ ।
रासस