२०८१ मंसिर ९ , आइतवार

बत्ती बाल्न पाएपछि दलगाउँका परिवार खुसी

electricity line

सुनाखरी न्युज/ काठमाडौं । विद्युत्को पहुँचबाट टाढा रहेको दलगाउँका तीन परिवारलाई गाउँपालिकाले सोलार सेट उपलब्ध गराएपछि खुसी भएका छन् । भोजपुरको रामप्रसाद राई गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका वडा नम्बर ४, दलगाउँका तीन परिवारलाई सोलार सेट सहयोग गरेको हो ।

पालिकाका अध्यक्षबाट सोलार सेट बुझेपछि मीनराज राईले भन्नुभयो, “सबैतिर बत्ती पुगे पनि हामी अध्यारोमा बस्न बाध्य थियौँ । पालिकाको सहयोगले आफूहरुलाई राहत मिलेको छ । हामी खुसी भयौँ ।”

विद्युत्को सेवाबाट वञ्चित दलगाउँका राईसहित मनकुमारी राई र बखतबहादुर राईलाई पालिकाका अध्यक्ष थामबहादुर राईले सोलार सेट हस्तान्तरण गर्दै पालिकाभित्रका कोही पनि नागरिक विद्युत् सेवाबाट वञ्चित हुन नपरोस् भन्नका लागि सहयोग गरिएको बताउनुभयो । “विद्युत् सेवाका लागि दूरी टाढा र आर्थिक अवस्थासमेत कमजोर भएकाले तीन परिवारलाई सहयोग गरेका हौँ”, उहाँले भन्नुभयो ।

विद्युत् नहुँदा अन्धकारका बस्न बाध्य परिवारलाई पालिकाले सहयोग गरेपछि सबै क्षेत्रमा विद्युत् विस्तार भएको वडाध्यक्ष बाबुकुमार राईले बताउनुभयो । उहाँका अनुसार विद्युत् प्राधिकरणबाट सबै क्षेत्रमा विद्युत् विस्तार भए पनि दूरी तथा आर्थिक अवस्था कमजोर भएकाले तीन परिवारको घरमा सेवा पुगेको थिएन ।

चाडपर्व नजिकिएसँगै गाउँपालिकाले वडा तहमा पुगेर ज्येष्ठ, अपाङ्गता भएका तथा अशक्त नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । पालिकाले एनआइसी एसिया बैंकको समन्वयमा दलगाउँका एक सय ५४ लाभग्राहीलाई स्वास्थ्य परीक्षण गरी भत्ता उपलब्ध गराइएको पालिकाका अध्यक्ष राईले जानकारी दिनुभयो । पालिकाले आगामी २५ गतेसम्म सबै वडामा पुगेर भत्ता वितरण सम्पन्न गर्ने जनाएको छ ।रासस