सुनाखरी न्युज/ काठमाडौं ।
बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) सँग सम्बन्धित सम्मेलन यतिखेर बेइजिङमा भइरहेको छ ।
चीनलाई बाँकी एसियासँगै युरोपतिर जोड्ने महत्वाकांक्षा सहित सुरु भएको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले बीआरआई परियोजना विस्तार र यसको कार्यान्वयन बृहत बनाउनका लागि ८ बुँदे अवधारणा अघि सारेका छन् । उनले चीनदेखि युरोपको रेल निर्माणलाई तीव्रता दिने बताएका छन् भने एशियाका लागि नयाँ ढुवानी कोरिडोर निर्माण गर्ने बताएका छन् ।
बीआरआई परियोजना लागू भएका मुलुक चिनियाँ ऋण पासोमा परेको र स्वतन्त्र व्यापारको अवधारणालाई यसले निषेध गर्न खोजेको आरोप खेपिरहेको सन्दर्भमा सीले बीआरआईका लागि ८ बुँदे अवधारणा अघि सारेका हुन् ।
सीले अघि सारेको ८ बुँदे अवधारणाको पहिलो बुँदामा युरोप र एशियामा ढुवानीका लागि कोरिडोर उल्लेख छ । यस्तै दोस्रो बुँदामा अधिक स्वतन्त्र व्यापार तथा लगानी सम्झौता सहितको सिल्क रोड विद्युतीय वाणिज्य क्षेत्र बनाउने उल्लेख छ ।